२०८१ भदौ २३, आइतवार , ०१:३६:१६ बजे

Sajhamanch
'

बिर्तामोड नगरको बृहत बौद्धिक प्रतिभा प्रदर्शनीमा उत्कृष्ट विद्यार्थी पुरस्कृत

आइतवार, असार ९, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको शिक्षा शाखाले शनिवार एक बृहत बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ ।

बिर्तामोड नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो । बिर्तामोडस्थित महेन्द्ररत्न माविमा आयोजित उक्त कार्यक्रममा विभिन्न पाँच विधाका बौद्धिक प्रतिभाहरूबीच प्रतिस्पर्धा गराइएको थियो ।

बिर्तामोड नगर शिक्षा शाखाका प्रमुख तिल्चन भण्डारीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमको उद्घाटन बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।

त्यसक्रममा उपप्रमुख संग्रौलाले विद्यार्थीहरूलाई कोरा किताबी ज्ञान मात्र नदिई उनीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने किसिमका क्रियाकलापहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूले मादल बजाउने प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूका लागि गायन प्रतियोगिता, कक्षा ४ र ५ का लागि दुना टपरी बनाउने प्रतियोगिता, कक्षा १, २ र ३ का लागि चित्रकला प्रतियोगिता र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि आकस्मिक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत चित्रकलातर्फ सेन्ट जेभियर्स माविका रिक्सन शेर्पा प्रथम, नवोदय फनमिन स्कूलका सक्षम कार्की द्वितीय, गोमेन्द्र बिर्तामोडल स्कूलकी युनिका राजवंशी तृतीय तथा न्यूटन एजुकेशनकी अरविन पौडेल र कञ्चनजंघा बोर्डिङकी रिहाना श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

यसैगरी, गायनतर्फ न्यूटन एजुकेशनका स्माइल बजगाईं प्रथम, सुनगाभा बोर्डिङका पूजन बुढा क्षेत्री द्वितीय, कञ्चन बोर्डिङका रोजी शेख तृतीय तथा बुद्ध स्मृति बोर्डिङका प्रसुन गुरागाईं र मोहनमाया माविका रोहीका तिम्सिनाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

मादल बजाउनेतर्फ न्यूटनका संस्कार सापकोटा प्रथम, एमिटी बोर्डिङका अचेतन भट्टराई द्वितीय, वाल्मिकी बोर्डिङका हृदयराज खनाल तृतीय तथा ग्लोरी बोर्डिङका मौसम तिम्सिना र देवी माविका सञ्जय प्याकुरेलले सान्त्वना पुरस्कार जितेका थिए ।

यसैगरी, दुना टपरी बनाउने प्रतियोगिता अन्तर्गत मोहनमाया माविकी सोनिया लिम्बू प्रथम, महेन्द्ररत्न माविकी खुश्बु शर्मा द्वितीय, दुर्गा माविका प्रनिश पाठक तृतीय तथा ग्रिन फिल्डकी आहना प्रधान र रुद्र मेमोरियल स्कूलका अनिषा भट्टराई सान्त्वना भएका थिए ।

माध्यमिक तहतर्फ सञ्चालित आकस्मिक वक्तृत्वकला एक्सटेम्पर स्पिचमा बाल्मिकी एजुकेशनका हृदयप्रसाद शिवाकोटी प्रथम, निधि माविका श्रेयम शिवाकोटी द्वितीय, महेन्द्ररत्न माविकी प्रस्तुति भट्टराई तृतीय र मोहनमाया माविकी आयुश्री मिश्र तथा टावर टेम्पल स्कूलकी सोनाक्षी राई सान्त्वना भएका थिए ।

पाँचवटा विधामा सञ्चालित प्रतियोगितामध्ये चित्रकला प्रतियोगिता न्यूटन एजुकेशन एकाडेमीमा शुक्रवार सञ्चालन भएको थियो ।

समापन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्ने कार्यक्रम आयोजना गरिएकोमा शिक्षा शाखा तथा विद्यालयहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

विद्यार्थीहरूका अन्तर्निहित प्रतिभाको खोजी गर्न नगरपालिका सदैब तयार रहेको उनले बताएकी थिइन् । प्रतियोगितामा निर्णायकका रूपमा बिर्तामोड नगरपालिका भन्दा बाहिरका विज्ञहरूलाई बोलाइएको थियो ।

सो अवसरमा शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल, सचिव उमानाथ भण्डारी, दुर्गा माविका प्रधानाध्यापक लक्ष्मण शिवाकोटी, सरस्वती माविका प्रधानाध्यापक दीपक लुईंटेल, महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल लगायतले विजयी प्रतियोगीहरूलाई नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरेका थिए ।

उक्त प्रतियोगिताको सञ्चालन लीलाप्रसाद भण्डारी, धर्मेन्द्र भट्टराई, देवेन्द्र हुमागाईं लगायतले गरेका थिए ।

सम्बन्धित खबर