बिर्तामोड । यहाँस्थित देवी माध्यमिक विद्यालयले विद्यालय–समुदाय सम्बन्ध कार्यक्रम अन्तर्गत शनिवार बिहान साइकल र्याली निकालेको छ ।
प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार विद्यालय प्रांगणबाट शुरु भएको सो र्यालीमा विद्यालयका शिक्षक तथा कर्मचारी गरी २५ जनाले सहभागिता जनाएका थिए ।
उक्त र्याली बिर्तामोडको मुक्तिचोक–अर्जुनधाराधाम–शनिश्चरे चोक–कालिस्थान–बुधबारे–माथिल्लो धाइजन चोक, सालबारी झिल हुँदै बिर्तामोड फर्किएर टुंगिएको थियो ।
‘विद्यालय र समुदायबीचको सम्बन्ध प्रगाढ बनाउँदै विद्यालयबारे थप जानकारी गराउन र्याली आयोजना गरेका हौं’, प्रधानाध्यापक श्रेष्ठले भनिन् ।
विद्यार्थीको रोजाईमा पर्ने मध्येको सो विद्यालयलाई शैक्षिक गुणस्तरसँगै खेलकुद र अतिरिक्त क्रियाकलापका दृष्टिले समेत अग्रणी मानिने गरिएको छ ।