२०८२ वैशाख २३, मङ्गलवार , ०७:३१:४४ बजे

Sajhamanch
'

राजस्व सङ्कलन सामान्य बढ्यो, ११ महिनामा ४१ अर्ब १९ करोड रुपैयाँ उठ्यो

शुक्रवार, असार ७, २०८१

काठमाडौं । गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा ४१ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागकाअनुसार गएको वर्ष यही अवधिमा ३७ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव तीन शून्य प्रतिशतले बढी हो ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चार खर्ब ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो । गएको वर्ष जेठ मसान्तसम्मको राजस्व असुली चार खर्ब आठ अर्ब रुपैयाँ थियो । गएको वर्षभन्दा चालू आर्थिक वर्षको यो अवधिसम्म ४० अर्ब रुपैयाँले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले बताए।

आयकर (भाडा र ब्याजसमेत) बाट दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धि कर (आन्तरिक) बाट एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अहिलेसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम सङ्कलन भएको छ । गएको वर्षको यही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालू आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन ।

कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा कमी आए पनि चालू आवको उत्तरार्द्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व सङ्कलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताए।

अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको उनले बताए।