२०८१ पौष २५, बिहिवार , ११:५०:२४ बजे

Sajhamanch
'

काठमाडौंमा एक हप्तामा साढे १५ करोडको कोकिन बरामद, ४ विदेशी पक्राउ

बिहिवार, असार ६, २०८१

काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पछिल्लो एक हप्तामा साढे ४ किलो कोकिनसहित ४ जना बिदेशी नागरिक पक्राउ गरेको छ । बरामद भएको लागुऔषधको बजार मूल्य १५ करोड ७६ लाख रहेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा तान्जानिया, बोलिभिया भेनेजुयला र भारतीय नागरिक रहेका छन् । २७ जेठमा फ्लाइ दुबईको उडानबाट नेपाल आएका तान्जानियाका नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलको एक होटलबाट पक्राउ परेका छन् ।

उनको साथबाट १८ क्याप्सुल कोकिन बरामद भएको थियो । तर अनुसन्धानका क्रममा उनले इथियोपियाबाट कोकनको क्याप्सुल निलेर आएको खुलेपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगी ७७ वटा कोकिनका क्याप्सुल निकालिएको ब्यूरोका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकराी दिए । उनको साथबाट कोकिनका ७७ क्याप्सुल अर्थात १ किलो २०६ ग्राम बरामद भएको थियो ।

त्यस्तै ३० जेठमा इमिरेट्सको उडानबाट ब्राजिल हुँदै काठमाडौं आएकी ३३ वर्षकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २ किलो १०० ग्राम कोकिन बरामद गरेको थियो ।

असार १ गते कतार एयरको विमानबाट काठमाडौं आएका भेनेजुयलाका नागरिक ३९ वर्षका सिमन एन्टोनियो फोजन राडालाई पनि काठमाडौंको एक होटलबाट पक्राउ गरेको छ । उनको साथबाट १ किलो १९८ ग्राम कोकिन बरामद गरेको छ ।

उक्त कोकिनहरु काठमाडौंमा जिम्मा लिने व्यक्ति भारतीय नागरिक २७ वर्षकी लाल्रुवात्सांगी पनि ४ असारमा पक्राउ परेकी छन् । उनले भारतका विभिन्न ठाउँसम्म कोकिन लैजाने गरेको खुलेको लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

सम्बन्धित खबर