
अर्जुनधारा । नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका समन्वय एवं सहजीकरण समितिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवं विकास निर्माण क्षेत्रमा नगरस्तर र वडास्तरमा बजेट विनियोजनको माग गर्दै आज नगर प्रमुख बलदेवसिंह गोम्देनलाई ज्ञापनपत्र बुझाएको छ ।
समन्वय एवं सहजीकरण समितिका संयोजक रञ्जिता कार्कीको नेतृत्वमा गएको नेपाली कांग्रेसका नेता कार्यकर्ताको टोलीले नगरस्तरीय एवं वडास्तरीय योजनाहरु समेटेर बजेट विनियोजनको मागसहित नगर प्रमुख गोम्देनलाई ज्ञापनपत्र बुझाएको हो ।
नगरपालिकाले नीति, योजना एवं बजेट बनाइरहेका बेला नेपाली कांग्रेसका तर्फबाट सहजीकरण समितिले ज्ञापनपत्र बुझाएको हो जनाइएको छ ।
झापा कांग्रेसले एकसाता अघि पार्टीका तर्फबाट नगरप्रमुख वा उपप्रमुखका विजयी जनप्रतिनिधि वा उपविजयी उम्मेद्वारहरुको संयोजकत्वमा १५ वटै पालिकामा पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति गठन गरेको थियो ।
सो समन्वय समितिले ज्ञापनपत्र मार्फत नगरभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा र कृषि विषयको अध्ययन–अध्यापन, दलित, महिला, जनजाति, बालबालिका, सीमान्तकृत वर्ग लक्षित जीवनोपयोगी सिप सम्बन्धी तालिम दिनुपर्ने सुझाएको छ ।
यस्तै, नगरभित्रका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाको संरक्षण र स्तरोन्नति, कृषि क्षेत्रमा ‘जहाँ खेती, त्यहाँ विजुली’ कार्यक्रम सञ्चालन, कृषकहरुलाई अनुदान तथा कृषि बीमा, पशुको नश्ल सुधार र पशु बीमा, कृषिजन्य उत्पादनको मूल्य निर्धारण एवं बजार ब्यवस्थापन, अति विपन्न नागरिकहरुको पहिचान गरी समयसापेक्ष सिपमूलक तालिम एवं रोजगारीको सिर्जना गर्न माग गरिएको संयोजक कार्कीले जानकारी दिएकी छन् ।
यसैगरी नगर अस्पतालको स्तरोन्नति गरी विशिष्टीकृत सेवा प्रवाह, नगरभित्रका जेष्ठ नागरिक र १० वर्षमुनीका बालबालिकाका लागि पूर्ण निःशुल्क स्वास्थ्य सेवा एवं अन्य उमेर समूहको औषधि खरिदमा ५० प्रतिशत छुटको ब्यवस्था गरिनुपर्ने, लागु औषधको दुर्व्यसन, महिला हिंसा, घरेलु हिंसा लगायतका विकृति विसंगति विरुद्ध जनचेतना तथा कानुनी सचेतना अभिबृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिएको छ ।