२०८१ माघ २४, बिहिवार , ०२:४४:५८ बजे

Sajhamanch
'

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते

बिहिवार, असार ६, २०८१

दाङ । रूकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। थप ६ जना घाइते भएका छन्।

दुर्घटनामा परी चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्रीको मिसन अस्पतालमा उपचारका क्रममा साढे ११ बजेतिर मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलका अनुसार दुर्घटनामा परी चौरजहारी नगरपालिका–११ का ९ वर्षीय डिल्ली डाँगी, चौरजहारी–१२ का ४३ वर्षीय बलु जैसी, १२ वर्षीया कल्पना वली, ४३ वर्षीय शरद शर्मा, चौरजहारी–५ का २३ वर्षीय चालक लक्ष्मण कुमाइ र २० वर्षीय विकास कुमाइ घाइते छन्।

घाइते मध्य ९ वर्षीय डिल्ली डाँगी र चालक लक्ष्मण कुमाइको अवस्था सामान्य रहेको छ। अन्य सबै घाइतेको अवस्था गम्भीर रहेको डिएसपी पोख्रेलले जानकारी दिए।

बिहीबार बिहान १० बजेतिर चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणको लागि ढुँगा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३-००१ त ०००१ नम्बरको ट्रयाक्टर ब्रेक फेल भई सडकदेखि झन्डै ८० मिटर तल खसेको थियो।

अन्य घाइतेको मिसन अस्पताल चौरजहारीमा उपचार जारी छ।

सम्बन्धित खबर