२०८२ जेठ ११, आइतवार , ०८:३९:०० बजे

Sajhamanch
'

यो हो भद्रपुर नगर सरकारको परिचय : सडक कालोपत्रे गर्न ग्राभेल होइन ढुंगामा अलकत्रा पोतिन्छ

बिहिवार, असार ६, २०८१

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेको पाइएको छ ।

नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार र नगर सरकारको लगानीमा दर्जनौँ आयोजनाका कामहरू निर्माणाधीन अवस्थामा छन् । तर यी कामको गुणस्तर कायम राख्न प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिले इमान्दारिता नदेखाउँदा ठेकेदारमैत्री काम भइरहेको हो ।

अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली खटाएर आयोजनाका काम गर्ने गरी सरकारले लगानी गरेको हुन्छ तर प्राविधिक कर्मचारी ठेकेदारको इसारामा कमिशनको आडमा अलमलिँदा कमसल सामग्री प्रयोग गरी ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्ने गरेको नाङ्गो आँखाले नै देख्न सकिन्छ ।

जनप्रतिनिधिहरू पनि कुनै न कुनै रूपमा ठेकेदारको संरक्षण गर्नमा तल्लिन छन् । निर्माणधीन आयोजनामा बढी जनगुनासो आए चर्चाका लागि कामको अनुगमन पनि गरे झैैं गर्छन् तर ठेकेदार माथि कारवाही गर्न हिम्मत गर्दैनन् ।

दुई आर्थिक वर्षको मात्र तुलना गर्ने हो भने भद्रपुर नगरपालिका क्षेत्रमा निर्माण सम्पन्न भएका या निर्माणाधीन अवस्थामा रहेका अधिकांश भौतिक पूर्वाधारका संरचनाका गुणस्तरीयता माथि प्रश्न उठ्ने अवस्थामा छन् ।

‘नगर सरकारको एकल लगानीमा निर्माण तथा मर्मत गरिएका दर्जनौ सडक, ढल लगायत मात्र हेर्ने हो भने यहाँ कार्यरत प्राविधिक किन राखिएको हो भन्ने प्रश्न उब्जन्छ’ स्थानीय एक उपभोक्ता रोष प्रकट गर्दछन् ।

नगरपालिका क्षेत्रमा मर्मत गरिएका भनिएका दर्जन बढी सडकमा पोतिएको कालोपत्रेसमेत वर्षाद शुरू भएपछि एकाएक हराउन थालेको दृष्यले सडक मर्मतका काम पनि मिलिखाने प्रवृत्ति बन्दै गएको संकेत पाइएको छ ।

करोड हाराहारी खर्च गरेर टालटुल गरिएका अधिकांश सडकमा पोतिएको कालोपत्रे नामोनिशान बन्न थालेपछि मिलिभगत प्रवृत्ति प्रष्टिएको हो । बैशाख अन्तिम साताबाट गरिएका अधिकांश कालोपत्रे सडकमा पानी जम्ने, भत्कने क्रम देखिन थालेको छ ।

नगरको बजार प्रवेश गर्ने मूल सडकको कालोपत्रे मापदण्ड विपरित भएको प्रमाण ठाउँ ठाउँमा वेश ग्राभेलको सट्टा ढुंगाले पुरेको देखिन थालेको छ । जनता चौकबाट मूल बजार हुँदै भन्सार प्रवेश गर्ने सडकको कालेपत्रे जलप मात्र लगाइएकोले वेश ग्राभेलको सट्टा ढुंगा देखिने अवस्था आएको हो ।

सम्बन्धित खबर