२०८१ पौष २५, बिहिवार , ०२:१५:३५ बजे

Sajhamanch
'

नेपालमै पहिलोपटक हुन लागेको राष्ट्रिय सहकारी मेलाको तयारी पूरा

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले पहिलोपटक यही असार ७, ८ र ९ गते राष्ट्रिय सहकारी मेला आयोजना गर्ने भएको छ ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा महासंघले नेपालमै पहिलो पटक हुन लागेको मेला ललितपुरको पुल्चोकमा गर्न लागिएको जनाएको हो ।

मेलाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्ने, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघले लिएको छ ।

प्रवेश निःशुल्क गरिएको मेलाको अवलोकन विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले गर्ने अनुमान महासंघको छ ।

मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुति, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुने महासंघ अध्यक्ष ओमदेवी मल्लले बताइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्ने मेलाको समापन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मूल नारासहित हुन लागेको मेलाको सबै तयारी पूरा भएको बताइएको छ ।

सम्बन्धित खबर