काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका छन । जर्मनी समकक्षी फ्रयाङ्क वाल्टर स्टाइनमायरसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सेवा शुरु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिए।
राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर बिहान स्वदेश फर्केका हुन । परराष्ट्रसचिव लम्सालले जर्मनीका राष्ट्रपति स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल भएको बताए।
परराष्ट्र सचिव लम्सालले राष्ट्रपति पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमण उपलब्धिमुलक रहेको दाबी गरे। राष्ट्रपति पौडेल स्विजरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए।