२०८१ पौष २५, बिहिवार , ०१:३८:५४ बजे

Sajhamanch
'

कर्णाली साकोसको ‘विशेष उपचार कोष’: ३ जना बिरामीले पाए २ लाख ६० हजार सहयोग

बुधवार, असार ५, २०८१

बिर्तामोड । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई उपचारबापत आर्थिक सहयोग गरेको छ ।

संस्थाका सचिव भूपाल बस्नेतका अनुसार उक्त साकोसको ‘विशेष उपचार कोष’ बाट दुई जना सदस्यलाई २ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

साकोसको कचनकवल गाउँपालिका–३ स्थित पथरिया सेवा केन्द्रमार्फत सदस्य हरिप्रसाद निरौलाकी ७ वर्षीया छोरी उपमा निरौलाको उपचारका लागि २ लाख एक हजार रुपैयाँ सहयोग गरिएको छ ।

फोक्सोमा गम्भीर समस्या भएर उपचारका लागि उनलाई काठमाडौं लगिएको छ ।

त्यस्तै, कचनकवल–६ बनियानीस्थित सेवा केन्द्रमार्फत सुत्केरी भएर गम्भीर बिरामी परेकी सदस्य कृष्णकुमारी गरागाईंलाई ५६ हजार रुपैयाँ सहयोग गरिएको साकोसका मानव संशाधन विभाग प्रमुख डिल्ली बस्नेतले बताए ।

त्यस्तै, अर्का एकजना सदस्यलाई पनि सोही कोषबाट तीन हजार रुपैयाँ आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, साकोसका सचिव भूपाल बस्नेत लगायतले मंगलवार सदस्यहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

पालिका अध्यक्ष राजवंशीले कर्णाली साकोसले गरेका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुले सदस्य, विपन्न, अतिविपन्न वर्गलाई राहत मिलेको बताए । उनले साकोसको सो कार्य अनुशरणीय रहेको बताए ।

कार्यक्रममा उक्त साकोसको पथरिया सेवा केन्द्रप्रमुख चन्द्रकान्त पौडेल, बनियानी सेवा केन्द्रका कार्यवाहक प्रमुख इन्दिरा ढुंगाना, सेवा केन्द्रका कर्मचारी, वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर