२०८१ पौष २७, शनिवार , १२:३३:५४ बजे

Sajhamanch
'

दूधको भुक्तानी नपाएपछि किसान आक्रोशित

बुधवार, असार ५, २०८१

काठमाडौं । दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगले गरेर करिब ५ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि दुग्ध किसान आक्रोशित बनेका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका महासचिव रामप्रसाद आचार्यले १५ दिनमा पाउनुपर्ने रकम ५ देखि ७ महिनासम्म पनि नपाइएको बताए । उनका अनुसार डीडीसीबाट मात्रै साढे २ अर्बबढी रकम भुक्तानी हुन सकेको छैन ।

डीडीसीले त्यसमध्ये ३० करोड रुपैयाँ भुक्तानी गरेको भनिएपनि त्यो समेत सबै किसानसम्म पुग्न नसकेको उनको भनाई छ ।

किसान र सरोकारवाला निकायबीच पटक–पटक भएको छलफलको सहमति अनुसार किसानले रकम भुक्तानी पाउन नसकेको आचार्यले बताए ।

किसान र सरोकारवाला निकायबीच २०८० मंसिर २६ गते र फागुन १९ गते भएको एक सम्झौता अनुसार पुस मसान्तसम्मको बक्यौता रकम चैत २१ गतेसम्म भुक्तानी गरिसक्नुपर्ने थियो ।

तर, उक्त सम्झौता कार्यान्वयन नभएको आचार्यको गुनासो छ ।

यता, दुग्ध व्यवसायी भने आफ्नो सामान बिक्री नहुँदा किसानलाई दूधको रकम भुक्तानी गर्न नसकेको बताउँछन् ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालय लगायत सरोकारवाला निकायहरू किसानलाई रकम भुक्तानी गर्न लागिपरेको बताए ।

नेपाल डेरी एशोसिएसनका केन्द्रीय सचिव शिवहरि आचार्यले पनि केही डेरी उद्योगहरूको सामान मौज्दात भएकाले रकम भुक्तानी हुन नसकेको बताए ।

पछिल्लो समय बजारमा मोही बनाएर बिक्री भइरहेकाले यसले किसानको रकम भुक्तानी गर्न सहयोग पुग्ने आचार्यको दाबी छ ।

त्यस्तै, सरकारी मातहतको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि मख्खन र पाउडर दूध बजारमा खपत हुन नसकेर किसानको रकम भुक्तानी गर्न सकेको जनाएको छ ।

किसान दूधको रकम करिब ७ महिनासम्मको भुक्तानी नभएको भन्दै बुधवार डीडीसीमा तालाबन्दी गर्न पुगेका थिए । तर, प्रहरी हस्तक्षेपका कारण उनीहरू तालाबन्दी नगरी फर्किएका छन् ।

त्यसक्रममा प्रहरीले संघका केही पदाधिकारीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ ।

आचार्यले अब पनि आफूहरूको माग पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रकम भुक्तानीका लागि पहल गरिरहेको जनाएको छ ।

किसानको समस्या प्रदेश र स्थानीय तहले समन्वय नगर्दा केन्द्रसम्म आइपुग्ने मन्त्री ज्वालाकुमारी साहको भनाई छ । रकम भुक्तानीका लागि सहजीकरण गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

सम्बन्धित खबर