२०८१ पौष २७, शनिवार , ०८:०५:०३ बजे

Sajhamanch
'

बलियो राजनीतिक शक्ति निर्माणका लागि ‘मिशन ८४’: नेता दाहाल

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता र बलियो राजनीतिक शक्ति निर्माणका लागि एमालेले ‘मिशन ८४’ अघि सारेको बताएका छन् ।

मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेता दाहालले अस्थिर राजनीतिले समृद्धि हासिल गर्न नसकिने भएकाले बलियो राजनीतिक शक्ति निर्माण जरुरी रहेको बताए ।

एमाले पोलिटब्यूरो सदस्य एवं स्थानीय विकास विभागप्रमुख समेत रहेका उनले मिलेमतोमा सरकार बनाउनुपर्ने, टिकाउनुपर्ने जस्ता कुराले देशले स्थिरता र समृद्धिको लय समात्न नसकेको उल्लेख गरे ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्तिका लागि आयात प्रतिस्थापन गर्दै राष्ट्रिय पूँजीको निर्माण जरुरी भएको भन्दै नेता दाहालले अस्थिर राजनीति रहेसम्म यी सम्भव नहुने बताए ।

संविधानको रक्षा र कार्यान्वयन साझा दायित्व

राष्ट्रिय सभामा सत्तापक्षीय संसदीय दलका नेतासमेत रहेका दाहालले संविधानको रक्षा र कार्यान्वयन सबै राजनीतिक दलहरुको दायित्व भएको बताए ।

कुनै एक दल वा शक्तिले मात्र देशमा परिवर्तन नल्याएको भन्दै परिवर्तनकारी दलहरुले यसको रक्षा र कार्यान्वय नगर्ने उनको भनाई थियो ।

संविधानको प्रभावकारी कार्यान्वयनका लागि अति आवश्यक कानूनहरु तुरुन्तै निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सभा विधायन समितिको उपसमितिले ४२ कानून तुरुन्त बनाउन गरेको सिफारिश कति कार्यान्वयन भयो भनि सरकारसँग प्रश्न पनि गरे ।

तीन तहका सरकारबीच दर्बिलो विश्वास कायम गरी संविधान कार्यान्वयन गर्नुमा जोड दिँदै उनले प्रदेश सरकारले साझा अधिकारका विषयमा  एकल निर्णय लिन नहुने र संघीय सरकारले पनि प्रदेशका एकल अधिकारमाथि हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।

कर्मचारीका माग सम्बोधन गर्न आग्रह

आफ्ना न्यायोचीत मागहरु अघि सार्दै आन्दोलित बनेका संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि समेत नेता दाहालले सरकारलाई आग्रह गरे ।

संसदमा सम्बोधनका क्रममा उनले संसारभरि नै स्थापित अभ्यास र मुल्य, मान्यताका आधारमा कर्मचारीहरुका न्यायोचीत मागहरु सरकारले अविलम्ब पूरा गर्नुपर्ने बताए ।

सम्बन्धित खबर