![](https://sajhamanch.com/wp-content/uploads/2024/06/water.jpg)
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति कम गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरेको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।
समितिले गएको जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बाग्मती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बाग्मती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ ।
मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मेलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदि ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन शुरु भएमा धमिलो पानी आएको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।
लामिछानेका अनुसार अहिले दैनिक २० करोड लिटर पानी उपत्यकावासीलाई वितरण भइरहेको छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा शुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्दै आइरहेको छ ।