२०८१ माघ १२, शनिवार , ०४:५९:४७ बजे

Sajhamanch
'

गैरकानूनी लाभ लिएको मुद्दाः विशेष अदालत काठमाडौंले ठहर्यायो इञ्जिनियर पाण्डेय र ओभरसियर मण्डललाई भ्रष्टाचारी

आइतवार, असार २, २०८१

काठमाडौं । विशेष अदालत काठमाडौंले महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सब–इञ्जिनियर सञ्जयकुमार मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

आइतवार विशेष अदालतले गैरकानूनी लाभ लिएको एक मुद्दामा उनीहरूसँगै व्यवसायी राकेशकुमार रायमाथि पनि कसुर ठहर गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको वडा नं. १ अन्तर्गतका स–साना सडक ढलान गर्नका लागि विनियोजित रकमबाट गुणस्तरहीन काम भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

अख्तियारले वैशाख १४ गते ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला सुनाएको हो ।

गुणस्तर जाँच नै नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब र प्रतिवेदनका आधारमा ८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो ।

उक्त रकमको दामासाहिले हुन आउने रकम दुई लाख ८८ हजार रुपैयाँभन्दा बढी पाण्डेय र मण्डललाई तिराउने फैसलामा उल्लेख छ । विशेषले उनीहरूलाई तीन महिना कैद सजाय हुने भनेको छ ।

अर्का प्रतिवादी तथा मनरा सिसवाका ठेक्का व्यवसायी राकेशकुमार रायमाथि पनि सजाय निर्धारण गरेको छ । उनीबाट बिगो रकम अर्थात दुई लाख ८८ हजार रुपैयाँ असुलउपर हुने विशेषको फैसलामा उल्लेख छ ।

विशेषका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तीन जनालाई भने सफाइ दिएको हो । गाउँपालिका उपाध्यक्ष महजबी खातुन र प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहले सफाइ पाएका छन् ।

अर्का प्रतिवादी महेन्द्रकुमार मण्डललाई पनि विशेषले सफाइ दिएको छ । उनी गाउँपालिकामा योजना शाखा प्रमुखका रूपमा कार्यरत थिए ।

सम्बन्धित खबर