२०८१ पौष २५, बिहिवार , ११:४९:५३ बजे

Sajhamanch
'

नक्कली लाइसेन्स जारी गरेको आरोपमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ

आइतवार, असार २, २०८१

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जना पक्राउ परेका छन् ।

उपसचिव ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत ३३ वर्षीय सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर ३० वर्षीय राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह पक्राउ परेका हुन् ।

उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

उनका अनुसार यातायात व्यवस्था विभागको केन्द्रीय सवारीचालक अनुमतिपत्र प्रणाली (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) प्रणाली लागू हुनुभन्दा अगाडि ड्राइभिङ लाइसेन्स प्रणाली कार्यान्वयनमा रहेको थियो ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा स्थानान्तरण हुन बाँकी सवारीचालक अनुमतिपत्रहरु पेपर कार्ड विधि मार्फत यातायात व्यवस्था कार्यालयले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा ईन्ट्री गरी सवारीचालक अनुमतिपत्रहरु वितरण गर्ने व्यवस्था रहेको थियो ।

‘यसरी पेपर कार्ड विधि मार्फत यातायात व्यवस्था कार्यालयहरूले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू समेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरू ईन्ट्री गरी सोका आधारमा गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको छ,’ बोगटीले भने ।

सम्बन्धित खबर