२०८१ माघ १२, शनिवार , ०५:४९:०३ बजे

Sajhamanch
'

मेचीनगरमा पहिलोपटक भएको ‘आइडिया हन्ट’ सकियो

शुक्रवार, जेठ ३२, २०८१

मेचीनगर । देशभरका पालिकाहरुमध्ये पहिलोपटक मेचीनगरमा आयोजना गरिएको युवा लक्षित नवप्रवर्तन कार्यक्रम प्रथम मेचीनगर ‘आइडिया हन्ट’ समापन भएको छ ।

मेचीनगर युवा परिषद्को आयोजना तथा मेचीनगर नगरपालिकाको संयोजनमा बुधवारबाट शुरु दुईदिवशीय कार्यक्रम बिहीवार सकिएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त कार्यक्रम सहभागी सबैका लागि भविष्यमा प्रभावकारी भूमिका निर्वाह गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार युवाप्रति संवेदनशील रहेको पनि उनले बताए ।

त्यस्तै, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मानिस आफूलाई अरूसँग तुलना गरेर अनावश्यक ढंगले निराश हुने गरेका बताए ।

निराशावादी सोचले भविष्य झन कमजोर हुने बताउँदै उनले आफ्नो उर्जावान समय चिनेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । नहिँडी गन्तव्यमा नपुगिने भएकाले लक्ष्य प्राप्त गर्न अनवरतरुपमा प्रयास जारी राख्नुपर्ने उनको धारणा थियो ।

यसैगरी, मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले नेपालमै पहिलोपटक स्थानीय तहले विद्यार्थीलाई ‘आइडिया’ ल्याउन लगानी गर्छ भनेर नयाँ कार्यक्रम अघि सारिएको बताए ।

उनले आइडिया ल्याएबापत प्रतिव्यक्ति १० हजार पहिलो चरणमा र अन्तिममा कूल ५० हजार उपलब्ध गराउने छ । त्यस्तै, समूहमा आउनेलाई पहिलो चरणमा ५० हजार र बाँकी अन्तिममा जम्मा २ लाख ५० हजार उपलब्ध गराउने तयारी रहेको वरिष्ठ प्रशासकीय अधिकृत वस्तीले बताए ।

सो कार्यक्रममा मेचीनगरका क्याम्पसका स्ववियु सभापतिसहित पदाधिकारी, राजनीतिक दलनिकट विद्यार्थी संगठनका प्रतिनिधि, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी थिए ।

काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा भएको कार्यक्रमको सहजीकरण विषयविज्ञ विकास कोईराला र विमल राजवंशीले गरेका मेचीनगर युवा परिषद्का अध्यक्ष कृष्ण काफ्लेले बताए ।

सम्बन्धित खबर