२०८१ माघ २५, शुक्रवार , ०३:३६:३९ बजे

Sajhamanch
'

काठमाडौंको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सको आयोजनामा हुन लागेको मेला नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको प्रबन्ध निर्देशक एवम् मेलाका संयोजक विष्णु पाण्डेले बताए।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको उनको भनाई छ । नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको मुख्य सहयोग रहेको मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने संयोजक पाण्डेले बताए।

मेलामा विभिन्न समूहगत छलफल हुनेछन् । मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसरको सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहने पाण्डेले बताए।

मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुने मेलामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।