२०८१ माघ ६, आइतवार , ०२:५४:१६ बजे

Sajhamanch
'

झरना खोला र भालु खोला किनारमा कोरिडोरको रुपमा काम गर्नेः वडाध्यक्ष फेम्बु

बिहिवार, जेठ ३१, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले ५ वर्ष भित्रमा वडाका मुख्य सडकहरु कालोपत्रे गरिसक्ने लक्ष्य राखेर काम गर्दै आएको छ । वडाले कालोपत्रेलाई आफ्नो गुरुयोजनाको रुपमा लिएर काम गर्दै आएको वडाध्यक्ष डिल्लीलाल फेम्बुले जानकारी दिए ।

चालु आर्थिक वर्षमा अधिकांश वडाका योजनाहरु सम्पन्न भएका छन् । केही स-साना योजनाहरुका काम भइरहेको र केही दिन भित्रै सम्पन्न हुने वडाध्यक्ष फेम्बुले बताए ।

वडामा मुख्य समस्याको रुपमा रहेको झरना खोला र भालु खेला कटान नियन्त्रणका लागि काम सुरु गरिएको छ । उनले भने, ‘झरना खोला र भालु खोला किनारमा कोरिडोरको रुपमा सडक निर्माण गरी यसको दीर्घकालिन समाधानको बाटो रोजेका छौं । भालु खोला किनारमा सडक निर्माणको काम सुरु गरिसकेको अवस्था छ । चालु आर्थिक वर्षमा वडाका एक सडक कालोपत्रे र सात सडक ग्राभेलको काम सम्पन्न भएका छन् ।’

वडामा रहेको एकमात्र पर्यटकीय तथा धार्मिक स्थल चिल्लागढ धामलाई पर्यटकको मन लोभ्याउने गरी काम हुँदैछ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट चिल्लागढ पोखरीको वरीपरी इन्टरलक ब्लक विच्छायाउने काम भएको छ । त्यस्तै पर्यटकका लागि लिम्बु जातिको सांस्कृतिक घर, महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक, पुराना मठ मन्दिरहरुको जीर्णद्धार लगायतका कामहरु भएका छन् ।

वडामा रहेको एकमात्र हाट बजार आइतबारे बजारलाई व्यवस्थित गर्दै नमुना बजारको रुपमा परिचित गराउन वडा कार्यालयले काम थालनी गरेको छ । हाल बजार क्षेत्रमा टहरा निर्माणको काम सुरु भएको छ । वडाका बाटाहरुमा कल्र्भड, खोला कटान भएको क्षेत्रमा तारजाली र झरना खोलामा झोलुङ्गे पुल निर्माणधिन अवस्थामा रहेको वडाध्यक्ष फेम्बुको भनाई छ ।

वडाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक सुधारका लागि बजेट विनियोजन गरी काम गरिएको छ । वडाको बजेटबाट श्री शिव प्राथमिक विद्यालय, सतासी प्राथमिक विद्यालय गुणस्तर सुधारका लागि काम भएको छ । विद्यालयहरुको कक्षा कोठा व्यवस्थापन आधारभूत शैक्षिक सामाग्री र शिक्षकहरुलाई तालिमहरुको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ भने नगरभित्र रहेको एकमात्र सतासीधाम बहुमुखी क्याम्पस सञ्चालन गर्नसमेत वडाले अनुदान प्रदान गरेको छ।

वडाले अति विपन्न परिवारका लागि स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ । विपन्न परिवारका नागरिक उपचारको अभावनमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले वडाले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको हो । अघिल्लो वर्षमा वडाले एक सय परिवार र चालु वर्षमा २८ परिवारलाई स्वास्थ्य विमा प्रदान गरेको वडा सदस्य रुका ढकालले जानकारी दिइन् । त्यस्तै वडाका नागरिकको मृत्यु भएमा मृत्यु संस्कार राहत कार्यक्रम लागु गरी प्रत्येक मृतकको परिवारलाई नगद ५ हजार प्रदान गर्दै आएको छ ।

वडा नं. ९ का कृषकहरुलाई मध्यनजर गर्र्दै बेमौसमी तरकारी खेतीका लागि टनेल र स्प्रे ट्ंयाकी वितरण गरिएको छ । जसमा १४ जनालाई कृषकलाई टनेल ७ जना कृषकलाई स्प्रे ट्यांकी वितरण गरेको वडा कार्यालयले जनाएको छ । त्यस्तैगरी १४ कृषकलाईलाई सिचाईको लागि मोटर वितरण गरिएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिका तथा वडाको बजेटबाट विभिन्न विधाका तालिमहरु सञ्चालन गरिएको छ । वडाले सञ्चालन गरेका ढाका बुन्ने तालिममा ४० जना महिला दिदीबहिनीहरुले सहभागिता रहेको वडा सदस्य रुका ढकालले बताइन् । तालिम प्राप्त गरेका केही महिलाहरुले व्यवसायिक रुपमा ढाका बन्न थालेको उनको भनाई छ । त्यस्तै ३८ जनाले साबुन तथा फिनेल बनाउने तालिम प्राप्त गरेका छन् । महिलाहरुले अझै पनि तालिमको माग गरेको उनले बताइन् ।

वडाले महिला स्वयम सेविकाहरुहरुलाई सहजताका लागि साइकल वितरण गरिएको छ । वडाले वडाका २ जना स्यमसेवीकालाई साइकलन वितरण गरेको हो । वडा नं. ९ लाई नमुना वडाको रुपमा विकास गर्न काम गरिरहेको वडाध्यक्ष डिल्लीलाल फेम्बुले जानकारी दिए । ‘वडामा रहेका जनप्रतिनिधिहरुको साथ र सहयोगले काम गर्न सहज भएको छ’ उनले भने, ‘यसरी साथ र सहयोग प्राप्त भइरहे बाँकी तीन वर्षमा वडाले लक्ष्य अनुसारको काम पुरा गर्नेछ ।’