जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् ।
रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । उनका अनुसार रुवीको श्रीमान राजु यादवसँग निरन्तर विवाद हुँदै आएको थियो । राजु केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए ।
सम्पर्कविहीन हुनुभन्दा पाँच दिनअघि पनि राजुले कुटपीट गरेपछि विवाद प्रहरी कार्यालयसम्म पुगेको थियो । गत शुक्रबार रुवी र उनका श्रीमान खाना खाएर सुत्न गएका थिए । तर शनिबार विहानदेखि रुवी भेटिएकी छैनन् ।
गत बुधबारसम्म राजु सम्पर्कमै थिए । प्रहरीले उनलाई बोलाएर ल्याउन भनेपछि रुवीका भाइ अनितले इलाका प्रहरी कार्यालयमा लगेका थिए । त्यहाँबाट उनी बेपत्ता भएको अनितको भनाइ छ ।
प्रहरी निरीक्षक सोनु साहले रुवी बेपत्ता भएको निवेदन आएपछि उनको घर र अन्य सम्भावित स्थानमा खोजतलास गरिरहेको बताए ।