२०८१ पौष २६, शुक्रवार , ११:४२:४८ बजे

Sajhamanch
'

कमल गाउँपालिकाबाट दलित समुदायका विद्यार्थीले पाए छात्रवृत्ति, विद्यालयलाई स्मार्ट टिभी

बिहिवार, जेठ ३१, २०८१

कमल। कमल गाउँपालिकाले सो पालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा लिइरहेका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

गाउँपालिका अन्तर्गत शिक्षा शाखाले चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उच्च शिक्षा (स्नातक तह) अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईमार्फत छात्रवृत्ति प्रदान गरिएको हो ।

गाउँपालिकाबाट छात्रवृत्ति पाउने विद्यार्थीहरूमा भूमिका पाँचचोटी, दिलाखा विक, लक्ष्मी कर्मकार, प्रल्हाद बर्देवा, तुलसा महरा, कविता दमाईं, बीनादेवी दर्जी, ऐश्वर्या बराइली, ओमकुमारी लामिछाने, राजकुमार मिस्त्री, बिनिता महरा दर्जी, सरोज दर्जी, लक्ष्मी बर्देवा दर्जी, बिनितादेवी घतानी, यमुनादेवी घतानी, दिलमाया विक र मीना विक बर्देवा छन् ।

उनीहरूले अध्ययन गरेको विषय र शैक्षिक संस्थाको शुल्कका आधारमा न्यूनतम १५ हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म छात्रवृत्ति वितरण गरिएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले जानकारी दिए ।

छात्रवृत्ति पाएपछि अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिँदै जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाईंले भनिन्, ‘छात्रवृत्ति बापतको रकमले अझै उच्च शिक्षा लिन हौसला मिलेको छ ।’

छात्रवृत्ति बापतको रकम जाति विशेष भन्दा पनि वर्गीय आधारमा सबै जातजातिका विद्यार्थीलाई दिँदा अझ उपयुक्त हुने र यसो गर्दा अरुलाई समेत उच्च शिक्षा अध्ययन गर्न टेवा पुग्ने उनको बुझाई थियो ।

यसैगरी, शिक्षा शाखाले छात्रवृत्तिसँगै आधारभूत तहका सामुदायिक विद्यालयलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्मार्ट टेलिभिजनसमेत हस्तान्तरण गरेको छ ।

गाउँपालिकामा सञ्चालित २१ वटा सामुदायिक विद्यालयमध्ये १५ वटा विद्यालयलाई आवश्यकताका आधारमा टेलिभिजन हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष राईमार्फत सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई टेलिभिजन हस्तान्तरण गरिएको बताइएको छ ।

प्रविधिको पहुँच नपुगेका विद्यालयलाई यी र यस्ता सामग्री वितरण गर्दा विद्यार्थीलाई सूचना प्रविधितर्फ अब्बल बनाउन सहयोग पुग्ने कमल–७ स्थित सरस्वती माविका प्रधानाध्यापक रुकमान सुब्बाले बताए ।

छात्रवृत्तिबापतको रकम सही सदुपयोग गर्दै उच्च शिक्षा अध्ययनमा खर्च गर्न अध्यक्ष राईले विद्यार्थीलाई सुझाव दिए । त्यस्तै, विद्यालयलाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीलाई सूचना प्रविधिको अधिकतम सदुपयोग गर्न स्मार्ट टेलिभिजनले सहयोग पुग्ने उनले बताए ।

शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले शाब्दिक स्वागतसहित औचित्यमाथि प्रकाश पारेको सो कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक कर्मचारी रविन गौतमले गरेका थिए ।

सम्बन्धित खबर