२०८१ फागुन २९, बिहिवार , १२:०५:०५ बजे

Sajhamanch
'

नेवार समुदायले सिथि नखः पर्व मनाउँदै

बुधवार, जेठ ३०, २०८१

काठमाण्डौं । आज नेवार समुदायले सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नखः हरेक वर्षको जेठ शुक्ल षष्ठीका दिन मनाउने गरिन्छ ।

त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजा पनि समापन गर्ने गर्छन् । आज नै काठमाण्डौको जैसीदेगलमा रहेको ६ वटा टाउको भएको कार्तिकेय कुमारलाई भक्तजनबाट दर्शन र विशेष पुजाका लागि मन्दिरबाट बाहिर राखिन्छ । आज भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र थिमिका लोकेश्वरको पनि जात्रा हुन्छ ।

सिथि नखःका दिन हरेक वर्ष पानीको स्रोतलाई सरसफाई र आफु बसेको वातावरण सफा गर्ने चलन छ । सार्वजनिक इनार, ढुङ्गेधारा, कुवा, पोखरी आफ्नो टोलका सबै जना भेला भएर सफा गर्ने परम्परा रहेको गोदावरी नगरपालिकाको ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ बताए ।

इनारको विशेष पूजा गरी इनारभित्र गएर सफा गर्ने, त्यसपछि चार दिनसम्म इनारबाट पानी नतानेर छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अझै पनि नेवार समुदायमा इनार सफा गर्नको लागि यही विशेष दिन पर्खिने परम्परा छ । यो बेला पानीको सतह कम हुने भएकोले सफा गर्न सहज हुन्छ ।

वर्षायाम शुरु हुँदै गर्दा सबै जम्मा भएर सार्वजनिक धारा कुवा, इनार लगायतको सरसफाईका लागि सिथि नखः पर्व शुरु भएको हिति प्रणालीमा पानी व्यवस्थापन सम्बन्धि इतिहास समेटिएको पुस्तकका लेखक समेत रहेका शहरी विकास विज्ञ पद्यमसुन्दर जोशी बताए ।

सम्बन्धित खबर