२०८१ साउन १२, शनिवार , ०९:०९:३४ बजे

Sajhamanch
'

मोदीसँग के-के विषयमा कुरा भयो प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्छ : रघुजी पन्त

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेका कुराकानीबारे संसदलाई जानकारी गराउनुपर्ने बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका प्रधानमन्त्री दाहालले मोदीसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किएका थिए।

प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा विभिन्न विषयमा भारतीय समकक्षी मोदीसँग कुराकानी भएको कुरा गरेका थिए। त्यो विषय आफूले समाचार पढेर थाहा पाएको सांसद पन्तको भनाइ थियो।

‘भारतसँग थाती रहेका हाम्रा समस्या जस्ताका त्यस्तै विद्यमान छ, त्यसैले सभामुखबाट आज रूलिङ हुनुपर्छ, प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ संसद हो, भारतीय प्रधानमन्त्रीसँग उहाँको के-के विषयमा कुराकानी भयो त्यो बाहिर अखबारमा भन्नुभयो ठिकै छ, संसदलाई सम्मान गर्ने हो भने आजै उहाँले संसदमा आएर भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रूपमा जानकारी दिनुपर्थ्यो,’ सांसद पन्तले भने।

नेपाल र भारतका बीचमा विद्यमान रहेका समस्याहरू समाधान गर्न के(के विषयमा ठोस कुराकानी भएको हो भन्नेबारे प्रधानमन्त्री दाहालले संसदलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

‘प्रधानमन्त्रीले यो जानकारी संसदलाई गराउनुपर्छ, यो संसदको विशेषाधिकार हो है, सभामुखजीले पनि यसमा आँखा चिम्लन मिल्दैन,’ उनले भने, ‘विदेश गएर आएपछि संसदमा उभिएर जानकारी दिनु विशेषाधिकार हो, यसको रक्षा होस्। त्यसैले स्पष्ट रूलिङ होस्।’

सम्बन्धित खबर