![](https://sajhamanch.com/wp-content/uploads/2024/06/pak-vs-can.jpg)
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । समूह ‘ए’ अन्र्तगतको यो खेल अमेरिकाको न्यूर्योकमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । पाकिस्तान यसअघि आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा र त्यसपछि दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
लगातार दुई खेल हारेको पाकिस्तानलाई सुपर आठमा पुग्ने झिनो सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नैपर्ने दबाब छ । तर दुई खेलमा जितले मात्रै पाकिस्तान सुपर आठमा पुग्न सक्ने अवस्था छैन । समूहका अरू खेलको नतिजा पनि पाकिस्तानका लागि अनुकुल हुनुपर्नेछ ।
समूह ‘ए’ मा आयोजक अमेरिकासहित भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा छन् । पाकिस्तानले समूह चरणको अन्तिम खेल आयरल्यान्डसँग खेल्नेछ । यो समूहमा भारत र अमेरिका समान २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष र दोस्रो स्थानमा छन् ।
क्यानडा २ खेलमा २ अङ्कसहित तेस्रो, अङ्कविहीन पाकिस्तान चौथो र आयरल्यान्ड पाँचौँ स्थानमा छ । क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयरल्यान्डलाई हराएको थियो ।
टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा समूह ‘डी’ को नेपालले भोलि बिहान श्रीलङ्कासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार भोलि बिहान सवा ५ बजे अमेरिकाको फ्लोरिडामा हुनेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलङ्का यसअघिका दुई खेलमा दक्षिण अफ्रिका र बङ्ग्लादेशसँग हारेको थियो ।
नेपालले श्रीलङ्कासँगको खेलपछि समूह चरणका अन्तिम दुई खेल वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बङगलादेशसँग खेल्नेछ ।