२०८१ साउन १२, शनिवार , ०५:१७:३९ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन्।अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले यही जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक हो। भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।उनले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको बताइएको छ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले आईएलओको सम्मेलनमा मुख्य वक्ताका रुपमा राष्ट्रपतिलाई आमन्त्रण गरिनुले संयुक्त राष्ट्रसंघले सामाजिक न्यायको कार्यसूचीलाई हाम्रो संविधान र संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रले पूर्ण रुपले आत्मसात् गरेको विषयलाई अन्तर्राष्ट्रियजगतमा स्थापित गरेको रूपमा बुझ्नुपर्ने बताए।राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्। राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ।

सम्बन्धित खबर