
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपाललाई ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।
आईएमएफको एशिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा। टिडियान किन्डा नेतृत्वको मिसन टोलीले अर्थमन्त्री वर्षमान पुनसँग आज अर्थ मन्त्रालय भेटवार्ता गर्दै ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने बताएको हो । कोषले नेपाललाई विस्तारित कर्जा सुविधा ९ईसीएफ० अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउन लागेको हो ।
आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई विस्तारित कर्जाअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात् चौथो किस्ताबापत ५ अर्ब ५९ करोड अर्थात् ४२ मिलियन अमेरिकी डलर उपलब्ध गराउन बाँकी छ ।
भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । मन्त्री पुनसँगको भेटमा डा। किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकासा गर्ने जानकारी दिनुभएको छ । उहाँले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।