काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुँदैछ । जसपा नेपाल नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजै नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो । मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि बिहान १० बजेसम्मको समय दिइएको छ ।
सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेशमा नयाँ राजनीतिक समीकरण बनेको हो । जनमतलाई २५ सिटको एमाले, नौ सिटको माओवादी, सात सिटको एकीकृत समाजवादी तथा एक सिटका नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टी गरी ५५ मत पुग्ने आँकलन छ । मधेशमा सरकार गठनको लागि ५४ सिट चाहिन्छ ।
यसअघि मधेश प्रदेश सभाको हिजोको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेको हो । यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका आठ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिएका थिए भने विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका नौ, एकीकृत समाजवादीका सात जनाले मतदान गरेका थिए ।
एमाले र माओवादीसँगै अस्ति मंगलवार एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्न एमाले, माओवादी र एकीकृत समाजवादीबीच यसअघि नै सहमति भैसकेको छ ।