२०८१ पौष २६, शुक्रवार , ०५:३६:०४ बजे

Sajhamanch
'

फरेबपूर्ण मुद्दा गरे वादीबाट पीडितले मनासिब क्षतिपूर्ति पाउने झापा जिल्ला अदालतले गर्यो फैसला

मङ्गलवार, जेठ २२, २०८१

कमल । फरेबपूर्ण मुद्दा गरेमा वादीबाट पीडितले मनासिब क्षतिपूर्ति पाउने झापा जिल्ला अदालतले फैसला गरेको छ ।

झापा जिल्ला अदालतबाट वादीले झुठ्ठा मुद्दा दिएकाले दाबी नपुग्ने भनी र वादीले फरेबपूर्ण मुद्दा गरेमा प्रत्यर्थीले मनासिब क्षतिपूर्ति पाउने गरी फैसला भएको हो ।

जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको इजलासले झुठ्ठा दाबी लिने वादी बिन्द्र राजवंशीले प्रतिवादी बन्दना भारद्धजलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराई दिने गरी सोमवार फैसला सुनाएको छ ।

“कसैले कसैलाई दुखः दिने वा हानी नोक्सानी पुर्याउने नियतले झुट्ठा उजूरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यस्तो झुठ्ठा उजूरी दिने उजूरीकर्ताबाट प्रतिवादीलाई मनासिब क्षतिपूर्ति भराई दिनेछ” भन्ने मुलुकी देवानी संहिता, २०७४ को दफा २८ मा कानूनी व्यवस्था छ ।

त्यसमा प्रतिवादीले प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तूर, कानून व्यवसायीको खर्च समावेश हुने गरी सो आधारमा क्षतिपूर्ति निर्धारण गर्ने कुरा रहेकाले सोका आधारमा अदालतले फैसला गरेको हो ।

जिल्ला अदालतमा भारद्धजले आफूले राजवंशीलाई ३ लाख रुपैयाँ नगद र ४५ लाख चेक मार्फत गरी जम्मा ४८ लाख रुपैयाँ दिएकोमा सो रकम नदिई सो बापत मिति २०७९।९।३० मा चेक काटी दिएकोमा सो चेक नसाटिएपछि चेक अनादरमा राजवंशी उपर चेक अनादर मुद्दा गरेकी थिइन् ।

सो चेक अनादर मुद्दामा वादीको दाबी पुग्ने ठहरी जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेलको इजलासबाट मिति २०८०।१०।१५ मा फैसला भएको अवस्थामा राजवंशीले जिल्ला अदालतमा फिरादीलाई नोक्सान पुर्याउने गरी चेक काट्न लगाएको भनी मिति २०८०।६।११ मा भारद्धज उपर उजूरी दर्ता गराएको अनुचित समृद्धीको मुद्दामा वादी राजवंशीले झुठ्ठा फरेबपूर्ण मुद्दा गरेकाले पीडित भारद्धजले राजवंशीबाट क्षतिपूर्ति भराउने भनी अदालतले फैसला सुनाएको हो ।

एकल महिला रहेकी भारद्धजले पहाडको जग्गा बिक्री गरी पैसा राखेको थाहा पाई राजवंशीले घर बिक्री गर्छु भनी चेकबाट र नगद पैसा लिएकोमा सो बापत निजले दिएको चेकलाई अनुचित हो भनी दाबी गरेका थिए ।

अदालतले वादीले तिर्नपर्ने रकम बापत नै चेक दिएको, उक्त चेक अनुचित समृद्धी हो भनी एकल महिलालाई दुखः दिन झुठ्ठा मुद्दा दिएको प्रमाणका आधारमा देखिई वादीबाट प्रतिवादीलाई क्षतिपूर्ति भराउने निर्णय गरेको हो ।

सो फैसलाले मुद्दा गर्दा सफा नियतले गर्नुपर्ने, पीडितलाई दुःख दिने, हानी नोक्सानी पुर्याउने नियतले फरेबपूर्ण मुद्दा गरेमा प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तूर, कानून व्यवसायीको खर्च समेतलाई आधार लिई राजवंशीले भारद्धजलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराई दिने गरी फैसला भएको झापा जिल्ला अदालतले जनाएको छ ।

झुठ्ठा उजूरी दिएकाले क्षतिपूर्ति भराई दिने गरी भएको जिल्ला अदालतको फैसला एक महत्वपूर्ण फैसला रहेको र अब कसैले कसैलाई दुखः दिने वा हानी नोक्सानी पुर्याउने उद्देश्यले पर्ने झुठ्ठा उजूरी केही नियन्त्रण हुने जिल्ला अदालतका सुपरीवेक्षक शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबर