![](https://sajhamanch.com/wp-content/uploads/2024/06/circket.jpg)
काठमाडौं । भरतपुर महानगरपालिकाले आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच आज राति हुने खेल निःशुल्क देखाउने भएको छ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउन लागेको महानगरले जनाएको छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति सवा ९ बजे अमेरिकाको डालासमा शुरु हुनेछ । यो खेलको प्रत्यक्ष प्रसारण भरतपुरको गेस्ट हाउस चौरमा देखाउन लागेको महानगरकी मेयर रेनु दाहालले जानकारी दिए ।
क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठूलो डिसप्लेको व्यवस्था गरिएको महानगरले जनाएको छ । यसअघि काठमाण्डौ महानगरले पनि नेपाल र नेदरल्यान्ड्सबीचको खेलको तीन वटा ठाउँमा प्रत्यक्ष प्रसारण देखाउने भएको छ । यस्तै पोखरा महानगरले पनि पृथ्वी चोकमा नेपाल र नेदरल्यान्ड्सबीचको खेलको प्रत्यक्ष प्रसारण देखाउने भएको छ ।