चुलाचुली । इलामको लारूम्बाबाट झापाको दमक आउँदै गरेको एउटा बोलेरो जिपलाई रतुवा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।
झापा र इलाम जिल्लाको सीमावर्ती चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले आज दिउँसो जीप बगाएको हो । चपेटीभन्दा माथिको रतुवा खोलाले जीप बगाएको थियो ।
जीपमा सवारमध्ये दुईजनाको शव भेटिएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिएका छन् । गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एकजना बच्चा र महिलाको शव भेटिएको प्रहरीले जनाएको हो । उनीहरूको पहिचान खुलिसकेको छैन ।
‘गाडीको एउटा चक्का मात्रै फेला परेको छ । गाडी भेटिएको छैन । प्रहरी घटनास्थलमा पुगेर उद्धार र अनुसन्धान थालेको छ’ एसपी ढकालले बताएका छन् ।
उक्त जीपमा चालकसहित ६ जना यात्रु सवार रहेको बताइएको छ । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने एउटा बच्चा र एउटी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।