२०८१ पौष २६, शुक्रवार , ०१:४३:४४ बजे

Sajhamanch
'

बिरामी कसरी बचाउने भन्दा पनि आफू कसरी जोगिने भन्ने भयले सधैं सताउँछः चिकित्सक

सोमवार, जेठ २१, २०८१

बिर्तामोड । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ (पहिलो संशोधन २०७९) बारे सोमवार बिर्तामोडमा प्रचार–प्रसार तथा अन्तक्र्रिया गरिएको छ ।

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले आयोजना गरेको एक दिवशीय सो कार्यक्रममा उक्त ऐनबारे बृहत छलफल भएको हो ।

अन्तक्र्रियाका अधिकांश वक्ताहरुले कानून प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा चिकित्सक र बिरामीहरु सधैं त्रासदिको घेरामा रहनुपरेको बताए ।

त्यसक्रममा उनीहरुले त्रासपूर्ण वातावरणमा काम गर्नुपर्दा बिरामीलाई कसरी बचाउनेभन्दा पनि आफू चाहिं कसरी जोगिने भन्ने भयले चिकित्सकलाई सताउने गरेको भोगाई व्यक्त गरे ।

बिरामीको मृत्यु भएमा आक्रमणमा उत्रिने र आर्थिक लाभको मनसायले बितण्डा मच्चाउने बिचौलियाको बिगबिगी देशभर बढ्दा चिकित्सक पलायन भएका वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख एवं डीएसपी प्रकाश विष्टले उच्छृंखल गतिविधि गर्ने समूहको चलखेल जतासुकै रहेको बताए ।

अवाञ्छित क्रियाकलाप गर्ने स्वार्थ समूहको पहिचान शुरु गरिएको उल्लेख गर्दै उनले संलग्नलाई कानूनी दायरामा ल्याइने बताए ।

त्यस्तै, मानवअधिकार सञ्जाल झापाका अध्यक्ष डा.रुपक खनालले राजनीतिक दलबाटै संरक्षित विभिन्न आवरणका समूहहरुबाटै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण हुँदै आएको जिकिर गरे ।

यसैगरी, डाक्टर लक्ष्मीप्रसाद मैनालीले ऐनमा भएको व्याख्या नै त्रूटिपूर्ण रहेको तर्क गर्दै सजायको दफामा ‘वा’ भन्ने शब्द हटाएर ‘र’ राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका मेची शाखा अध्यक्ष डाक्टर सिपी यादवले नेताहरुले कमिशन लिएर अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्न विभिन्न समूहलाई उकास्ने गरेको आरोप लगाए ।

त्यस्तै, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले राजनीतिक दलको आड लिएर केही अराजक समूह आक्रमणमा उत्रिने गरेको स्वीकार गरे । बौद्धिक व्यक्ति राजनीतिमा नआएसम्म देशको समग्र अवस्था नसुध्रिने उनको धारणा थियो ।

कार्यक्रममा झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोक बस्नेतले चिकित्सकलाई सबैले भगवानका रुपमा लिएर विश्वास र भरोसा गर्ने गरेका बताए ।

मनमा डर लिएर कसैले पनि काम गर्न नसक्ने भन्दै उनले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए पीडित पक्षले कानूनी बाटो समाउनुपर्ने बताए ।

सबैले भयरहित वातावरणमा काम गर्न पाउनुपर्ने भन्दै मुख्य न्यायाधीश बस्नेतले भने, ‘कतिपयलाई आफू पीडित भए उजुरी गर्ने निकाय छ भन्ने ज्ञान नहुन सक्छ, चेतना जगाउनुपर्छ ’।

संघका अध्यक्ष डाक्टर अनिलविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष डाक्टर बद्री रिजालले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

४२ जना सहभागी अन्तक्र्रियाको सञ्चालन संघका महासचिव डाक्टर सञ्जीव तिवारीले गरे भने शाब्दिक स्वागत संघका उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक डाक्टर दिपेश आचार्यले गरेका थिए ।

सम्बन्धित खबर