२०८१ पौष २६, शुक्रवार , ०७:०५:४६ बजे

Sajhamanch
'

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलको भेलामा दर्जनबढी शिक्षक सम्मानित

आइतवार, जेठ २०, २०८१

कमल । नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ कमिटीले शनिवार चौथो गाउँ परिषद् भेला आयोजना गरेको छ ।

भेलामा संगठनका केन्द्रीय सदस्य बुद्धिमान कार्कीले शिक्षाको विकासका लागि समाजवाद उन्मुख अग्रगमनकारी नीति अझै बन्न नसकेको बताए ।

‘संविधानद्वारा प्रदत्त अधिकारलाई संस्थागत ढंगले कार्यान्वयन गर्ने शिक्षा ऐन लागू नहुँदा वर्षौंदेखि थाँति रहेका शैक्षिक समस्याहरू समाधान हुनुको साटो जटिल बन्दै गएको छ ।’, उनले भने ।

त्यस्तै, संगठनका जिल्ला अध्यक्ष द्रोणबहादुर श्रेष्ठले स्थानीय, प्रदेश र राष्ट्रियस्तरमा उत्पन्न शैक्षिक समस्यासँग जुध्न शिक्षक महासंघको गठन र सञ्चालन अहिलेको आवश्यकता बनेको बताए ।

भेलामा उनले भने, ‘हामीले आफ्नो क्षमताको विकास गर्दै शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न जुट्न जरुरी छ ।’

सो अवसरमा कमल गाउँपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकहरुलाई कदरपत्र र सेवानिवृत्त शिक्षकलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कदरपत्रबाट सम्मानित हुने शिक्षकहरूमा निर्मला पराजुली, कुमार दाहाल, अम्बिका खड्का (बस्नेत), शेखरबहादुर श्रेष्ठ, पदमप्रसाद गौतम, भीमचन्द्र न्यौपाने, लिला अधिकारी, मोतिलाल भट्टराई, लीलाप्रसाद भट्टराई र निर्मल गड्तौला छन् ।

त्यसैगरी, सम्मानपत्रबाट सम्मानित हुने शिक्षकहरूमा अभिनारायण तिम्सिना, लहरी लुइँटेल, बुद्धिप्रसाद भण्डारी, लक्ष्मीप्रसाद अधिकारी र सोमनाथ ढुंगेल छन् ।

संगठनका कमल गाउँ कमिटी अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश लेखा समिति सदस्य सोमनाथ बराल, राष्ट्रिय प्रतिनिधि तथा शिक्षक महासंघ कमलका अध्यक्ष मोहनकुमार बगाले, जिल्ला कमिटी सदस्य हिमप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कमल–५ स्थित मंगलमय माविको सभाहलमा भएको भेलाले अध्यक्ष मधुसुदन अधिकारीद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष सुमन गौतमद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलपछि पारित गरेको थियो ।

संगठनका कमल गाउँ कमिटी सचिव श्रीप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा शाब्दिक स्वागत उपाध्यक्ष भीमप्रसाद पौडेलले गरेका थिए ।

“समुन्नत राष्ट्रका लागि शैक्षिक विकासमा हाम्रो प्रतिबद्धता, राजनीतिक अधिकारका लागि ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितता” भन्ने मूल नाराका साथ उक्त भेला आयोजना गरिएको थियो ।

सम्बन्धित खबर