२०८१ पौष १९, शुक्रवार , ०४:३७:१३ बजे

Sajhamanch
'

काँकरभिट्टा खानेपानी संस्थामा चुनावः मतदाता भन्छन्, ‘संघर्ष गरेका, जानेबुझेकै लागि जिताउँछौं’

बुधवार, वैशाख १९, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

चुनावको मिति नजिकिएसँगै तीन वटा प्यानलमा विभक्त उम्मेद्वारहरु जारी अभियानका क्रममा उपभोक्ता भेट्न र मत माग्न व्यस्त बनेका हुन् ।

विभिन्न दलमा आबद्ध उम्मेद्वारहरुको चुनाव केन्द्रित तालमेलबाट बनेको प्रगतिशील समाजवादी साझा, लोकतान्त्रिक प्रगतिशील साझा र स्वतन्त्र खानेपानी उपभोक्ता समूह प्यानल निर्वाचनमा होमिएको हो ।

घरदैलो अभियानको पाँचौँ दिन (शुक्रवार) मेचीनगर–६ स्थित शान्ति रमाइलो गाउँ पुगेका प्रगतिशील समाजवादी साझा प्यानलका उम्मेद्वारले खानेपानी अवस्थाबारे बुझेका थिए ।

“यहाँको पछिल्लो स्थिति बुझ्यौं, पहिलेका धेरैजसो समस्या त थाहा भएकै हो” उपभोक्ताका गुनासा सुनिरहेका सो प्यानलबाट अध्यक्षका उम्मेद्वार सन्तोष आचार्यले भने, “सोधेर रहलपहल समस्या टिपोट गरेका छौं ।”

संस्थाले सेवा विस्तार गरेको ७ वटै वडाका सबै उपभोक्तामाझ पुग्ने गरी अभियानलाई रफ्तारमा अघि बढाइएको जानकारी गराउँदै उनले थपे, ‘१६ वर्षसम्म काम गर्दा पनि संस्थागत र उपभोक्ताका समस्या बुझेकै थिएँ, समाधानको उपाय पनि हामीसँगै छ ।’

आश्वासन त पहिले अरुले पनि बाँडे होलान्, गुनासो सुन्नु मात्रै हुन्छ कि पूरा पनि हुन्छ ? भन्ने साझा मञ्चको जिज्ञासामा आचार्यले भने, ‘पहिले के भयो, त्यो त भुक्तभोगीलाई नै थाहा होला, अरुले अब के गर्छन्, त्यतापट्टि नजाऔँ, यो प्यानल सुन्नै र भन्नैका लागि होइन, गर्नैका लागि बनेको हो, पुष्टि गर्नै त मौका पनि चाहियो नि, उपभोक्ताले पत्याउनेमा विश्वस्त छौं ।’

त्यसो त चुनाव हुन लागेको संस्थामा चौकीदार (तल्लो तह) देखि स्टोर कीपर पदसम्म गरी १६ वर्ष सेवा गरेका उनलाई नचिन्ने र नबुझ्ने उपभोक्ता औंलामै गन्न सकिने मात्रै होलान् ।

“त्यतिखेर सन्तोष बाबुले खानेपानीमा घन्टैपिच्छे बजाएको घण्टी (समयसूचक घण्टी) कानमा अझै गुञ्जिइरहन्छ, अहिलेजस्तो लाग्छ” अभियानमा भेटिएका साठी बिघाका एक पाका उपभोक्ता भन्छन्, “संघर्ष गरेका, जानेबुझेकै लागि जिताउँछौं ।”

प्रगतिशील समाजवादी साझा प्यानलले अध्यक्षमा सन्तोष आचार्य, उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा दिलिपजंग सुब्बा र कोषाध्यक्षमा विमला तामाङलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै, सोही प्यानलमा इन्दिरा बुढाथोकी अधिकारी (राधा), मीरा कार्की, तीर्थराज नेपाल, पर्शुराम निरौला र डिल्लीकुमार काफ्ले सदस्य पदका उम्मेद्वार छन् ।

सोमराज ढकाललाई लेखा समिति संयोजक पदको उम्मेद्वार बनाएको उक्त प्यानलबाट सोही समितिको सदस्यको उम्मेद्वारहरुमा बालकुमार भूजेल र जोस्ना राजवंशी छन् ।

पानीको उत्पादन बढाउने, गुणस्तर नियन्त्रण गर्दै सेवा थप गर्ने, उपभोक्तालक्षित सेवा प्रवाह, आर्थिक पारदर्शिता र प्रशासनमा समयसापेक्ष सुधार, उपभोक्ता जागरण शिक्षा, स्वास्थ्य र सरसफाईमा जोड दिने अठोट यो प्यानलले लिएको छ ।

पूर्वसांसद श्रीप्रसाद मैनालीको संयोजकत्वमा बनेको सो प्यानलको १५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटीको सह–संयोजकहरुमा धनप्रसाद गुरुङ, भूपाल शिवाकोटी, राजु पोखरेल र ओमप्रकाश खापुङ तथा सदस्य–सचिवमा राजकुमार पराजुली छन् ।

“सामाजिक क्षेत्रमा सक्रिय, स्वच्छ छवीका अनुभवी र खारिएका उम्मेद्वार पाउँदा उपभोक्तामा भरोसा बढेको छ” निर्वाचन परिचालन कमिटीका संयोजक मैनाली भन्छन्, “हाम्रो प्यानलका लागि यही नै शुभसंकेत हो ।”

जारी उक्त अभियानमा संविधानसभा सदस्य रविन कोइराला, एमाले नेता डिल्लीराम घिमिरे लगायत प्यानलमा मिलेका दलका नेता तथा कार्यकर्ता एवं समर्थक र शुभचिन्तकले सहभागिता जनाइरहेका छन् ।

प्रगतिशील समाजवादी साझा प्यानलबाट नेकपा एमाले र जनता समाजवादी पार्टी तथा स्वतन्त्र खानेपानी उपभोक्ता समूह प्यानलबाट रास्वपाका उम्मेद्वार छन् ।

त्यसैगरी, लोकतान्त्रिक प्रगतिशील साझा प्यानलबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेद्वार छन् ।

यसैबीच, लोकतान्त्रिक प्रगतिशील साझा र स्वतन्त्र खानेपानी उपभोक्ता समूह प्यानलका उम्मेद्वारहरु पनि घोषणा पत्रसहित उपभोक्ता भेटघाटमा व्यस्त छन् ।

यही जेठ २६ गते हुन लागेको उक्त निर्वाचनबाट आगामी ३ वर्षे अवधिका लागि संस्थाको नयाँ कार्यसमिति चयन हुँदैछ ।

मेचीनगर–२, ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा ८ हजार वटा धारा विस्तार गरेको सो संस्थाको यो निर्वाचनमा ६ हजार ६ सय ७४ जना उपभोक्ताले मतदान गर्न पाउनेछन् ।

सम्बन्धित खबर