२०८१ मंसिर ८, शनिवार , ०१:२३:४५ बजे

Sajhamanch
'

वैदेशिक रोजगारी : ३ वर्षमा ४ हजार ३५ जनाको ज्यान गयो, ८ सय जनाभन्दा धेरै घाइते तथा बिरामी

बुधवार, जेठ १६, २०८१

काठमाडौं । बितेको तीन वर्षमा वैदेशिक रोजगारमा रहेका चार हजार ३५ जना नेपालीको ज्यान गएको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ जना नेपाली श्रमिकको ज्यान गएको हो । यस्तै तीन वर्षमा आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको परेका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, जाँड–रक्सी प्रयोग, कामदारबीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेशिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, सडकमा हुने दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासिएर, डुबेर लगायतका कारणले ज्यान गुमाउने, अङ्गभङ्ग हुने तथा बिरामी परेको पाइन्छ ।

स्वदेशबाट मेडिकल जाँच गरी श्रमका लागि गन्तव्य गएको नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न नसकिने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस वर्ष भएको कुल मृत्यु एक हजार दुई सय ५० मध्ये मलेसियामा २७ दशमलव ९६, साउदी अरेबियामा २६ दशमलव ३६, संयुक्त अरब इमिरेट्स (यूएई) मा १७ दशमलव ९८, कतारमा १७ दशमलव २३, कुवेतमा छ दशमलव शून्य चार र अन्य देशमा चार दशमलव ४३ प्रतिशत रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य देशमा ज्यान गएमा मृतकको शव अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ । यो वर्ष शव व्यवस्थापनमा दुई करोड ८५ लाख ८० हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

बोर्डबाट वैधानिक रूपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनका लागि रकम निकासा हुने गरेकोले गैरकानुनी रूपमा रहेका श्रमिकको ज्यान गएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन् ।

वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले ज्यान गएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा तीन लाख र २०७४ साउन १६ गतेदेखि सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।

सम्बन्धित खबर