२०८१ माघ १३, आइतवार , ०५:३२:५५ बजे

Sajhamanch
'

डा. आचार्यलाई स्वतन्त्रता सेनानी सम्मान

बुधवार, जेठ १६, २०८१

पाँचथर । नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन् ।

महासंघ शाखाले फिदिममा आयोजना गरेको मिडिया सम्मेलनमा डा. आचार्यलाई सम्मान पत्र, दोसल्ला र नगदबाट सम्मानित गरिएको हो ।

कोशी प्रदेश सभा सदस्य मैयाँ श्रेष्ठ लावती, शाखाका अध्यक्ष गिरिराज बाँस्कोटा लगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विशिष्ट योगदान पुर्याएको भन्दै ३३ हजार रुपैयाँ राशिको पुरस्कार आचार्यलाई प्रदान गरेका हुन् ।

यसअघि यो सम्मान महासंघका पूर्व सभापति/अध्यक्षहरू हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, डा. महेन्द्र विष्ट, शिव गाउँले लगायतले प्राप्त गरिसकेका छन् ।

सम्मेलनमै फिदिम नगरपालिकाद्वारा स्थापित २५ हजार रुपैयाँ राशिको फिदिम नगर पत्रकारिता पुरस्कारबाट पत्रकार खविन लुइँटेल पुरस्कृत भए ।

शाखामा स्थापित १० हजार रुपैयाँ राशिको हरि चरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा खनाल र फिदिम स्पोर्टिङ क्लबले शाखामार्फत वितरण गर्ने १० हजार रुपैयाँ राशिको प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कार पत्रकार विनोदकुमार सुब्बा (सन्देश) लाई प्रदान गरियो ।

पाँचथरसहित आसपासका जिल्लाका पत्रकारसमेत सहभागी मिडिया सम्मेलनमा मोफसलको पत्रकारिताका विषयमा ताप्लेजुङका आनन्द गौतम, सप्तरीका ललिता शाह र दैलेखका विशाल सदाशंकरले आफ्ना अनुभव तथा धारणा राखेका थिए ।

सो सेसनको सहजीकरण झापाका पत्रकार केशव भट्टराईले गरेका थिए । अबको पत्रकारिताका विषयमा पत्रकारद्वय दिलभुषण पाठक र कमलदेव भट्टराईले धारणा राखे ।

इलामका पत्रकार सटेन्द्र जबेगूले सहजीकरण गरेको उक्त सेसनको कि नोट स्पिकर पत्रकार अरुण बराल थिए । सम्मेलनकै अवसरमा शाखाले प्रकाशन गरेको पत्रकारिता नामक पुस्तक विमोचन गरियो ।

सम्बन्धित खबर