२०८१ साउन ११, शुक्रवार , ०३:३३:१० बजे

Sajhamanch
'

एनएमसीले बुझायो प्रशासनलाई ज्ञापन पत्र

सोमवार, जेठ १४, २०८१

दमक । पछिल्लो समय सहकारी क्षेत्रमा गरिँदै आएको आक्रमणविरुद्ध देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सोमवार प्रशासन समक्ष ज्ञापन पत्र पेस गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नाममा केही व्यक्तिहरु उदण्ड बन्दै ऋणी सदस्यलाई ऋण तिर्नु पर्दैन भन्दै उकास्ने, संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई धम्क्याउने जस्ता क्रियाकलाप गरेको पाइएकाले त्यसविरुद्ध एनएमसीले इलाका प्रहरी कार्यालय दमकमा ज्ञापन पत्र पेस गरेको हो ।

जेठ ६ गते आइतवार संस्थाका सदस्यसमेत रहेका कमल गाउँपालिका–५ निवासी भक्तिराम ताजपुरिया समेतको संलग्नतामा अभियानको नाममा एनएमसीको दमक सेवाकेन्द्रमा उपस्थित भई धम्क्याउने र वातावरण उत्तेजित बनाउने जस्ता कार्य गरेका कारण संस्थामा कार्यरत समिति एवं कर्मचारीहरुले असुरक्षित महसूस गरेका कारण उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानूनी व्यवस्था अनुसार कार्वाही र संस्थाको कार्यसञ्चालनका क्रममा शान्ति सुरक्षाको आवश्यक व्यवस्थापनका लागि ज्ञापन पत्र मार्फत प्रशासन समक्ष अनुरोध गरिएको छ ।

संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती लगायत स्थानीय समिति पदाधिकारी तथा कर्मचारीको संयुक्त टोलीले ज्ञापन पत्र बुझाउँदै संस्थाले बचत तथा ऋण व्यवसाय अन्तर्गत सदस्यहरुको सानोतिनो बचत संकलन गरी सदस्यहरुलाई नै कर्जा उपलब्ध गराउँदै आएकोमा विगतको कोभिड–१९ को विश्वव्यापी प्रभाव, त्यसपछिको आर्थिक मन्दी जस्ता कारणले कतिपय सदस्यलाई कर्जा बुझाउन समस्यासमेत परेकाले सदस्यको यो अप्ठ्यारोलाई महसूस गर्दै सदस्यले बुझाउनुपर्ने हर्जनामा ५० प्रतिशतसम्म र ब्याजमा २५ प्रतिशतसम्म छूटको सुविधासमेत संस्थाले प्रदान गरेकाले सहकारी क्षेत्रको उन्नयनमा यसप्रकारका गतिविधिले अवरोध सिर्जना गर्ने हुँदा त्यसतर्फ एनएमसीको विशेष चासो रहेको संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बताए ।

सहकारी अभियानमा सधैं अग्रणी भूमिका निर्वाह गर्दे आएको एनएमसीले सदैव सदस्य तथा समुदायको हितका लागि काम गर्दै आएकाले केही निश्चित झुण्डका कारण सहकारीकै बदनाम गर्नेगरी चालिएको पछिल्लो कदमको भत्र्सना समेत गर्ने अध्यक्ष शिवाकोटीको भनाई छ ।

सदस्यलाई प्रवाह गरेको ऋण सदस्यको नै बचत भएकाले सदस्यको बचतको सुरक्षा गर्नु संस्थाको प्रमुख दायित्व रहेको जनाउँदै संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले यसप्रकारका कथित अभियानले सहकारीका सदस्यको हित नगर्ने बताए ।

तीन दशक सहकारी अभियान मार्फत विभिन्न व्यवसायसँगै सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको एनएमसीलाई राज्यले समेत पुरस्कृत गर्दै आएको र आफ्ना सदस्यको हित अनुरुप काम गरेका कारण सदस्यले एनएमसी रोज्ने गरेकाले अभियानका नाममा सदस्यलाई उकास्ने र समिति तथा पदाधिकारीलाई धम्क्याउने काम बन्द गर्नुपर्ने एनएमसीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती बताउँछन् ।

एनएमसीमा हाल १ लाख ६५ हजारभन्दा बढी सदस्य आबद्ध छन् भने संस्थाको कार्यक्षेत्र झापा, मोरङ र इलाममा छ । संस्थाले हाल बचत तथा ऋण व्यवसाय, डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल मार्ट, चिया उद्योग लगायत व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थामा प्रत्यक्ष रोजगारीमा ११४७ जना कर्मचारी कार्यरत छन् ।