२०८१ साउन १२, शनिवार , ०५:३०:४७ बजे

Sajhamanch
'

प्रेस चौतारीले लगायो पत्रकार महासंघ झापामा ताला

सोमवार, जेठ १४, २०८१

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघको कार्यालयमा सोमवार तालाबन्दी गरेको छ ।

सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यमबाट सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी व्यक्त गर्दै चौतारीले तालाबन्दी गरेको हो ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतवार राति १ सय ९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो ।

सदस्यता सूची आफैंमा शुद्धीकरणको पूर्वनिर्धारित विधि र मापदण्ड विपरीत रहेकाले तालाबन्दी गर्न बाध्य भएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताए ।

चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा आस्था राखेकै कारण पत्रकारितामा सक्रिय, झापाली पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको सदस्यता छानी–छानी खोस्ने नियतले सार्वजनिक गरिएकाले घोर आपत्ति जनाइएको उल्लेख छ ।

शुद्धीकरणमा समान विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा त्यसलाई लत्याएर मापदण्डको आधारभूत मान्यतासमेत उल्लंघन हुनेगरी सार्वजनिक भएको नामावली अविलम्ब सच्याउन चौतारीले माग गरेको छ ।

प्रेस चौतारीले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पत्रकारका सबै संघ–संगठनलाई सार्वजनिक रुपमा अपीलसमेत गरेको छ ।

सम्बन्धित खबर