२०८१ साउन १२, शनिवार , ०५:१६:४८ बजे

Sajhamanch
'

२६४ वटा स्वास्थ्य संस्थामा सिटामोलसमेत पाइएन, ३८० वटामा जीवनजल छैन

सोमवार, जेठ १४, २०८१

काठमाडौं । नागरिकका लागि अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने सरकारी नीतिको प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार औषधि वितरणको अनुगमन गर्दा स्वास्थ्य नीति २०७६ अनुसार अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुनुपर्नेमा कतिपय अस्पताल र स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको पाइएको हो । स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत परीक्षण गर्दा निःशुल्क वितरण हुने औषधिमध्ये केही औषधिको मौज्दात नै नभएको प्रतिवेदनमा उल्लेख छ ।

२६४ वटा संस्थामा सिटामोल, ३५३ वटा संस्थामा अल्वेण्डाजोल, ७१६ वटा संस्थामा भिटामिन ए क्याप्सुल, ७२१ वटा संस्थामा एमोक्सोसिलिन, ५३४ वटा संस्थामा नाभी मलम र ३८० वटा संस्थामा जीवनजलको मौज्दात शून्य रहेको महालेखाले जनाएको छ ।

निःशुल्क वितरण गरिने औषधिहरू प्रदेश, पालिका र सङ्घीय तीन वटै सरकारमार्फत खरिद गरी वितरण हुने गरेको छ । अत्यावश्यक औषधिसमेत स्वास्थ्य संस्थामा मौज्दात नहुँदा निःशुल्क औषधि वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन नभएको महालेखाले जनाएको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने नीति लिएको छ ।

सम्बन्धित खबर