![](https://sajhamanch.com/wp-content/uploads/2024/05/sammelan.jpg)
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा भइरहेको ‘हिमाल, मानव तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादमा सहभागीहरूले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापीकरण गर्न सामूहिक प्रयास आवश्यक रहने बताएका छन् ।
पर्वतीय क्षेत्रले विश्वभरिका नागरिकलाई स्वच्छ हावा, पानी र अन्य सेवा उपलव्ध गराएको सन्दर्भमा यो क्षेत्रमा पर्ने असर त्यहीमा मात्र सीमित नहुने भएकाले यसलाई समग्रतामा हेरिनुपर्ने उनीहरूको तर्क छ । थोरै हिउँ पर्ने, भएका हिउँ पग्लने, हिउँ तालको सङ्ख्या बढनेजस्ता प्रक्रियाले हिमालयका क्षेत्रको प्राकृतिक सन्तुलन बिग्रेको र यसले जलवायुजन्य विपद्लगायत जोखिम थपेकोमा सबैले चिन्ता व्यक्त गरेका छन् ।
जलवायु सङ्कटको गाम्भीर्यतामा विश्वका सरकार र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्नेमा धेरैको जोड छ । ‘इन्टरनेशनल डायलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नाम दिइएको यो संवादमा नेपाललगायत २५ देशका दुई सय जना प्रतिनिधि सहभागी छन् ।
जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे छलफल गर्ने, पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने उद्देश्य यो सम्मेलनको छ । सम्मेलन आज सकिँदै छ ।