
काठमाडौं ।प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।
मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए।कांग्रेस र प्रतिपक्षी दलहरूका विरोधबीच सभामुख घिमिरे कार्यसूचीमा प्रवेश गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धन्यवाद प्रस्ताव टेबल गरेका थिए। गत जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख घिमिरेले बताए।
यस्तै गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव राखेका थिए। गत जेठ ३ गते मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो।
सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका छन्।