
काठमाडौं । वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको छ । फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृतिलगायतका सेवा नियमित हुन नसकेको विभागले जनाएको छ ।
समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले निकालेको सूचनामा उल्लेख छ । फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् । यसअघि पनि फेमिसमा समस्या आउने गरेको थियो । जसले गर्दा श्रम स्वीकृति लिनेहरू वैदेशिक रोजगार कार्यालयसम्मै धाउन बाध्य थिए ।