२०८१ माघ ६, आइतवार , १२:५५:५३ बजे

Sajhamanch
'

मिलन शाह–शंकरद्वारा लिखित ‘कर्ना’ कृति लोकार्पण

सोमवार, जेठ ७, २०८१

काठमाडौं । मिलन शाह–शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहकाबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह–शंकर, साहित्यकार लेखनाथ पोखरेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोखरेल, कृतिका सम्पादक कृष्ण भूसाल लगायतले कृतिको लोकार्पण गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि तथा अतिथिहरूबाट आमा कमला फाउण्डेशनको पनि अनावरण गरिएको थियो । यो फाउण्डेशन स्रष्टा शाह–शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गरेका हुन् ।

सो अवसरमा राजु सिंह, सीताराम पोखरेल, प्रकाशचन्द्र परियार, राजेन्द्र रिमाल, कमला डिसी, दीपेन्द्र सिंह दर्नाल, जितबहादुर राउत, सन्तोष श्रेष्ठ, घनेन्द्र ओझा लगायतले स्रष्टा शाह–शंकरलाई बधाई तथा शुभकामना दिएका थिए ।

स्रष्टा शाह–शंकरले विविध कारणवशः यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताउँदै आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको बताए ।

महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले साँच्चै राम्रो कृति कर्ना रहेको बताउँदै कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पारेका थिए ।

पुस्तकको समीक्षा गर्दै प्रा.पुरुषोत्तम दाहालले दश वर्षे सशस्त्र हिंसाले धेरै घाउहरू दिएको बताउँदै यस कृतिमा पनि त्यसले समाजमा निम्त्याएको घटनालाई उजागर गरेको बताए ।

समाजमा जगडिएर रहेको जातिय छुवाछूतका विषयलाई पनि कृतिले उजागर गरेको उनले सुनाए ।

मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भूसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसीले माओवादी सशस्त्र द्वन्द्वले अनेक पीडा र घाउ दिएको बताउँदै त्यसैमा आधारित यो कृति पनि रहेको बताए ।

मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गरेका थिए ।

सम्बन्धित खबर