
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएको शनिवार रातको समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिनुभयो ।
सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेका जानकारी दिनुभयो । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकै ठाउँ मरेको भेटिएको उहाँले बताउनुभयो । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त गरी ६० वटाभन्दा बढी भेडीगोठ छन् ।