भद्रपुर । झापाको भद्रपुरमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याइरहेका गायक तथा संगीतकार अर्जुन खरेललाई डी सिनेमा छायाँछवि अवार्डबाट सम्मान गरिएको छ ।
नेपाल चलचित्र संघले काठमाडौमा आयोजना गरेको १५औं डी सिनेमा छायाँछवि नेसनल फिल्म अवार्ड २०८१ बाट खरेललाई राष्ट्रिय कला सम्मान गरिएको हो ।
भद्रपुर १० केन्द्रमोड निवासी खरेल एक दशकयता निरन्तर गीत संगीतको क्षेत्रमा कृयाशील छन् । उनले आधुनिक, लोक पप र चलचित्रका दर्जनौ गीत गायन तथा संगीत सिर्जना गरिसकेका छन् ।
सो कार्यक्रममा अन्य विभिन्न कलाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । २५ वर्षभन्दा लामो समयसम्म सेवा गरेकाले पाउने चलचित्रकर्मी रजत सम्मान हाँस्य अभिनेता जीतु नेपाल र पाश्र्व गायिका माण्डवी त्रिपाठीलाई प्रदान गरिएको थियो ।
रंग पत्रकारितामा दुई दशकभन्दा लामो समयदेखि कार्य गरिरहेका पत्रकार मणिराज गौतमलाई १५ हजार ५५५ रुपैयाँ राशीको छायाँछवि रंग पत्रकारिता पुरस्कार प्रदान गरियो ।
यस्तै, छायाँछवि विशेष सम्मानद्वारा अभिनेता सविन श्रेष्ठ सम्मानित भए भने छायाँछवि कलाकार सम्मानबाट वरिष्ठ कलाकार शिवहरि नेपाल बैरागी, छायाँछवि संगीत सम्मानबाट रुद्रशेखर शर्मा, छायाँछवि प्रदर्शक सम्मानबाट दिप्रश शाक्य, छायाँछवि कलाकारिता योगदान सम्मानबाट रोशन श्रेष्ठ, छायाँछवि कला सम्मानबाट विराज विष्ट र छायाँछवि फोटोग्राफी सम्मानबाट च्याङ्बा लामा सम्मानित रहेका थिए ।