२०८१ पौष २५, बिहिवार , ११:५९:०६ बजे

Sajhamanch
'

जनताले एमाले नेता असल हुन्छन् भन्ने जनपक्षीय काम गर्नुपर्छः नेता ज्ञवाली

आइतवार, जेठ ६, २०८१

मेचीनगर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले जनताले एमालेका नेताहरु इमानदार, क्षमतावान र गतिशील हुन्छन् भन्ने गरी जनपक्षीय काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनको शनिवार उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।

“जनताको घरदैलोमै पुगेर समस्या बुझेर समाधान गर्नुपर्छ, जनतासँग हाँसेर कुराकानी गर्नुपर्छ, रिसाएर होइन” अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि ज्ञवालीले भने, “गरीब र सुकुम्बासीको जिम्मा एमालेले लिन्छ ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई, केन्द्रीय सदस्यहरु रविन कोइराला, मीना उप्रेती, केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाईं, झापा अध्यक्ष प्रेम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा काँकरभिट्टा खानेपानी संस्थाको यही जेठ २६ गते हुने निर्वाचनका लागि बनेको प्रगतिशील समाजवादी साझा प्यानलबाट अध्यक्षका उम्मेदवार सन्तोष आचार्य र सचिवका उम्मेदवार एवं जसपाका केन्द्रीय सदस्य दिलिपजंग सुब्बाले प्रतिबद्वता मन्तव्य राखेका थिए ।

उक्त अधिवेशनमा शहीदहरुका परिवारलाई सम्मान गरिएको छ । शहीद वीरेन राजवंशीका छोरा नेत्र राजवंशी, छवि मेचेका छोरा कुमार मेचे र मदनकुमार खपाङ्गीका छोरा लिला खपाङ्गीलाई सम्मान गरिएको हो ।

त्यसैगरी, पार्टीको भवन निर्माणका लागि जग्गा दिएका समाजसेवी स्व. बुद्धिनाथ पौडेलका छोरा कृष्ण पौडेल, छत्रबहादूर बस्नेतकी बुहारी हेमकुमारी बस्नेत, जयप्रसाद सुवेदीकी पत्नी दिलकुमारी सुवेदी, पुष्पलाल मिश्र र हर्कबहादूर लिम्बूलाई सम्मान गरियो ।

पार्टीमा योगदान पुर्याएका नेताहरु भीम खवास, हरिचरण बानियाँ र विष्णु प्रसाईंलाई सम्मान गरिएको अधिवेशनको उद्घाटन सत्रमा धुलाबारी माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

काँकरभिट्टास्थित मेची सामुदायिक भवनको हलमा शुरु अधिवेशनको उद्घाटन सत्रमा स्वागत उपसचिव डेनु मगर र सञ्चालन सचिव जगन भट्टराईले गरेका थिए ।

अधिवेशनको बन्दसत्रमा पार्टी नगर कमिटीका कार्यवाहक अध्यक्ष कञ्चन तामाङले राजनीतिक तथा संगठनात्मक र पार्टीको जिल्ला लेखा कमिटी अध्यक्ष राजेन्द्र भट्टराईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आइतवार समापन हुने अधिवेशनमा ती प्रतिवेदनहरुमाथि छलफल हुने र नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

सम्बन्धित खबर