
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ ।
यस्तै चालुआर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २ दशमलव ९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा वस्तु निर्यात ३ दशमलव ७ प्रतिशतले घटेको छ भने वस्तु आयात २ दशमलव ८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २ दशमलव ८ प्रतिशतले घटेको उल्लेख छ । आयातमा भएको सङ्कुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चालु खाता १७९ अर्ब ४८ करोड र शोधनान्तर ३६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा र शोधनान्तर १७४ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०र०८१ को नौ महिनासम्ममा चालु खर्च ६४४ अर्ब ३ करोड रुपैयाँ भएको जनाएको छ ।