
जनकपुरधाम । धनुषामा स्कुल बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।मोटरसाइकल चालक विदेह नगरपालिका ७ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।
धनुषा प्रहरीका अनुसार आज बिहान पौने ११ बजेतिर हुलाकी सडक खण्डअन्तर्गत विदेह नगरपालिका ७ जोगियारास्थित तिनकोरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेश २ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको लर्ड गणेश इङ्लिस बोर्डिङ स्कुलको बस ठोक्किएका थिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सुमित राई घाइते भएका छन् । उनको जनकपुरधामस्थित रामजानकी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।