
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै गाडी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गाको कर्जामा केही सहज बनाएको छ ।
राष्ट्र बैंकले ‘हायर पर्चेज’ प्रकृतिका गाडीमा कर्जाको जोखिमभार एक सय प्रतिशतमा झारेको छ । यसअघि त्यस्तो जोखिम भार एक सय २५ प्रतिशत थियो । लक्ष्यको तुलनामा निकै कम कर्जा विस्तार भएपछि राष्ट्र बैंकले लचकता अपनाएको हो । केन्द्रीय बैंकले ११ दशमलव पाँच प्रतिशतले कर्जा विस्तारको लक्ष्य लिएकोमा साढे चार प्रतिशतभन्दा बढ्न सकेको छैन ।
राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने ऋणमा पनि खुकुलो नीति लिएको छ । घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ । यसबाट घरजग्गाको कारोबार बढ्ने राष्ट्र बैंकको विश्वास छ ।
बैंक तथा वित्तीय संस्थाको पूँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत जनाएको छ । यो व्यवस्थाले पूँजीकोषको दबाबमा रहेका बैंकलाई ऋण लगानी गर्न सहज हुनेछ ।
असल वर्गमा वर्गीकरण भएका कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था एक दशमलव २५ प्रतिशतबाट एक दशमलव २० प्रतिशतमा झारिएको छ । चाँदी आयात तथा बिक्रीरवितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक मौद्रिक नीतिमा लिइएको लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिएको उल्लेख छ । ‘आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्यसमेतका आधारमा विद्यमान पाँच दशमलव पाँच प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोरअन्तर्गतको तीन प्रतिशतको निक्षेप सङ्कलन दर र सात प्रतिशतको बैंक दरलाई यथावत् राखिएको छ, मौद्रिक नीतिको समीक्षामा भनिएको छ, ‘विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखिएको छ ।’