२०८१ फागुन १२, सोमवार , ०५:३८:५६ बजे

Sajhamanch
'

१० महिनामा सरकारको आम्दानी ८ खर्ब ४९ अर्ब, खर्च भने १० खर्ब रुपैयाँभन्दा धेरै

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको आम्दानीभन्दा खर्च दुई खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । आम्दानी कम र खर्च धेरै हुँदा सरकारी खाता दुई खर्ब तीन अर्ब रुपैयाँभन्दा धेरै घाटामा रहेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि वैशाखसम्मको १० महिनामा राजस्व र अनुदान गरेर आठ खर्ब ४९ अर्ब १४ करोड रुपैयाँ आम्दानी भएको छ । तर खर्च भने १० खर्ब ५२ अर्ब १४ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा १० महिनामा जम्मा आठ खर्ब २४ अर्ब अर्थात् ५८ दशमलव ४८ प्रतिशत मात्रै सङ्कलन भएको छ ।

यस्तै ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदानको लक्ष्य राखेकोमा दुई अर्ब २५ करोड अर्थात् लक्ष्यको साढे पाँच प्रतिशत मात्रै प्राप्त भएको छ । यसैगरी १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमध्ये हिजोससम्म १० खर्ब ५२ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ ।

चालुतर्फ ११ खर्ब ४१ करोड ७८ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकोमा १० महिनामा सात खर्ब ४९ अर्ब रुपैयाँ खर्च भएको छ । तीन खर्ब दुई अर्ब रुपैयाँ पुँजीगत अर्थात् विकास खर्चको लक्ष्य रहेकोमा १० महिनामा जम्मा एक खर्ब नौ अर्ब ९६ करोड रुपैयाँ अर्थात् जम्मा ३७ दशमलव शून्य चार प्रतिशत मात्रै खर्च भएको छ ।

१० महिनामा जम्मा ३७ प्रतिशत मात्रै पुँजीगत खर्च हुनुले देशमा भौतिक विकास कति सुस्त छ भन्ने देखाएको छ । यस्तै वित्तीय व्यवस्था अर्थात् ऋण तिर्न र शेयरमा लगानीतर्फ तीन खर्ब सात अर्ब रुपैयाँ खर्चको लक्ष्य रहेकोमा एक खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँ अर्थात् ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ ।

सम्बन्धित खबर