२०८१ माघ १२, शनिवार , ०४:१६:०० बजे

Sajhamanch
'

सशस्त्र प्रहरीले गरे आगलागीको क्षति न्यूनीकरण र उद्धार विधिबारे कृत्रिम अभ्यास

सोमवार, वैशाख ३१, २०८१

कमल । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयको प्रकृति टोलमा सोमवार बिहान भीषण आगलागी हुन्छ ।

आगलागीबाट काठको तीन तले घर पूरै जल्छ । ५ जना शक्त घाइते हुन्छन् र लाखौं मूल्य बराबरको धनमा क्षति पुग्छ । आगलागीको सूचना पाउने बित्तिकै सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालयको टोली खटिन्छ ।

सो टोलीले कमल गाउँपालिका र दमक नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिन्छ र, घाइतेहरूको उद्धार गरी थप क्षति हुनबाट जोगाउँछ ।

विपद व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरीका प्रशिक्षार्थीहरूले आगलागीबाट हुने क्षति न्यूनीकरण र घाइतेको उद्धार गर्ने तरिकाबारे सोमवार यस्तो कृत्रिम अभ्यास गरेका हुन् ।

विपद व्यवस्थापनमा खटिएका प्रशिक्षार्थीहरुले सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयमा प्राकृतिक रुपमा हुनसक्ने उक्त घटनाको कृत्रिम अभ्यास गरेर देखाएका छन् ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत वार्षिक कार्यक्रम अनुसार विपद व्यवस्थापनमा खटिने सशस्त्रका प्रशिक्षार्थीलाई प्रदेशका १४ वटै जिल्लामा सञ्चालन गरिएको तालिम अन्तर्गत सो अभ्यास गराइएको हो ।

उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई विभिन्न कारणबाट हुन सक्ने आगलागी, सम्भावित क्षति न्यूनीकरण, उद्धार गर्न चाहिने सुरक्षा सामग्रीको प्रयोग विधि, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्रीको प्रयोग लगायत व्यवहारिक विषयमा अनुशिक्षण तालिम दिइएको थियो ।

प्राकृतिक र मानवीय कारणबाट दिनानुदिन विपदका घटना भइरहेका छन् । यस्ता घटनाले जनधनको ठूलो क्षति हुने गरेको छ । यी यस्ता दैवी विपत्तिलाई न्यूनीकरण गर्न प्रदेशका १४ वटै जिल्लामा सशस्त्र प्रहरी तथा कर्मचारीलाई तालिम दिन थालिएको छ ।

आगलागी, सडक दुर्घटना लगायत घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका सचिव लक्ष्मीप्रसाद पौडेलले बताए ।

“गाउँघरमा विशेषगरी आगलागी, सडक दुर्घटना जस्ता विपदका घटना हुने गरेका छन् ।” कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) ले भनिन्, “त्यस्ता घटनामा सशस्त्र प्रहरीसँग समन्वय गरी उद्धारका धेरै काम गर्दै आएका छौं ।”

तालिम समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालयका समादेशक कमलप्रसाद तिम्सिनाले यी र यस्ता तालिमले विपदका बेला धेरै सहयोग पुग्ने उल्लेख गर्दै उपस्थित अतिथि एवं तालिममा सहभागी प्रहरी तथा प्रशिक्षकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा सडक दुर्घटना, विभिन्न प्रकोपका कारण हुने दुर्घटनाबाट घाइते भई तत्काल स्वास्थ्य केन्द्रसम्म पुग्नुअघि जीवन रक्षाका लागि गरिने विभिन्न उपचार विधि र आगलागी तथा एमआरएफ सम्बन्धी कृत्रिम घटना बारे अभ्यास समेत गरिएको थियो ।

सम्बन्धित खबर