२०८१ पौष २७, शनिवार , ०२:०९:४६ बजे

Sajhamanch
'

लेखनसीप तालिमको सिकाईलाई व्यवहारमा उतार्न आग्रह

सोमवार, वैशाख ३१, २०८१

बिर्तामोड । झापाको अर्जुनधारामा शुरु भएको एड्भान्स लेखनसीप सम्बन्धी तीन दिवशीय तालिम समापन भएको छ ।

अर्जुनधारा नगरपालिकाको आयोजना र इजलास मिडियाको सहजीकरणमा सञ्चालित तालिम आइतवार सकिएको हो ।

मेलमिलापकर्ताहरुलाई लक्षित गरी आयोजित सो तालिममा अधिवक्ता वसन्त नेपाल र अर्जुनधारा नगरपालिकाका कानून अधिकृत आकृति निरौलाले सहजीकरण गरेका थिए ।

गाउँघरमा गरिने लिखतका सन्दर्भमा अधिवक्ता नेपालले अभ्याससहित दुई दिन सहजीकरण गरे भने कानून अधिकृत निरौलाले लिखतमा ध्यान दिनुपर्ने कानूनी पक्ष र नगरको न्यायिक सेवाका बारेमा सहजीकरण गरिन् ।

समापन कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले एड्भान्स लेखनसीपबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।

उनले आ–आफ्नो वडामा आम नागरिकलाई नै सहयोग पुगोस् भन्ने उद्देश्यले मेलमिलापकर्ताहरुका लागि तालिम आयोजना गरिएको बताए । प्रमुख अतिथि रिमालले लेखनसीपले न्याय सम्पादनको क्षेत्रमा योगदान हुने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा न्यायिक समिति सदस्य टुम्मनाथ काफ्लेले लेखनसीप कार्यक्रम उपलब्धिमूलक भएको बताए ।

उनले सानातिना निवेदन लेख्न पनि प्राविधिक कठिनाई हुने गरेको बताउँदै आवश्यक पर्ने लिखत लेखनका लागि तालिमले ठूलो सहयोग पुगेको बताए ।

निवेदन लेख्न नसक्दा धेरैले न्याय माग्न समेत नसकेको बताउँदै उनले न्यायका लागि लिखतमा सहयोग गर्न आग्रह गरे ।

मेलमिलापकर्ताहरुले वडामा समन्वय कम भएको विषयमा प्रतिक्रिया दिँदै उनले न्यायिक समितिको तर्फबाट आवश्यक छलफल गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा सहभागिहरुका तर्फबाट कृष्णप्रसाद चापागाईं र इन्दिरा भट्टराईले लेखनसीप तालिमको अनुभव सुनाएका थिए । निवेदनदेखि वैनाबट्टा कागज लेख्न, सहमति, मिलापत्र लेखनसँगै कानूनी ज्ञान प्राप्त गरेको अनुभव सुनाएका थिए ।

सहजीकरण गर्ने संस्थाका सञ्चालक प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक शाखाकी कर्मचारी माया ऐर, पत्रकार रमेश समदर्शी लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर